

विराटनगर, २५ चैत । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले संविधान प्रदत्त अधिकार रक्षा गर्न अपाङ्ग मैत्री कानुन बनाउन लागिपरेको जानकारी दिनुभएको छ ।





विराटनगरमा शुरु भएको राष्ट्रिय अपाङ्ग महासंघको आठौ महाधिवेशन उद्घाटन गर्दै मुख्यमंत्री राईले एक नम्बर प्रदेशका १४ वटै जिल्लामा अपाङ्ताको क्षेत्रमा काम गर्ने गरी योजना बनाईरहेको जानकारी दिनुभयो ।

उहाँले सरकार सुखी नेपाली समृद्ध नेपालको अवधारणा अनुसार अघि बढिरहेकोले सबै नेपालीलाई विकास र समृद्धिमा समान अवसर दिने गरी कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो । उहाँले केही व्यक्तिहरु संविधान बाहिर जान खोजेकोले उनीहरुको गतिविधिलाई नियन्त्रण गर्न प्रतिबन्ध लगाइएको र चाडै नै राजनीतिको मूलधारमा आउने विश्वास व्यक्त गर्नुभयो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएकाहरुको समस्याको सम्बोधन गर्न सरकारले कंजुस्याई गरिरहेको गुनासो गर्नुभयो ।
दुई दिन सम्म चल्ने सो महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम समेत रहेको छ । सो महाधिवेशनमा महासंघमा आबद्ध ३ सय ३१ संघसंस्थाबाट आएका ७ सय १० जना प्रतिनिधि र ६० जना पर्यवेक्षकहरु सहभागी रहेको बताइएको छ ।