
काठमाडौं– साताको अन्तिम कारोबार दिन आज (बिहिबार) सेयर बजारले ऐतिहासिक रेकर्ड राखेको छ । बिहिबार नेप्से परिसूचकले नयाँ रेकर्ड राखेको छ भने कारोबार रकम पनि रेकर्ड ब्रेक नजिक पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २९.५५ अंकले बढेर २८५६.६७ बिन्दुमा पुगेको छ । आज नेप्से परिसूचक १.०५ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ पनि परिसूचक ७.९६ अंकले बढेर ५१३.११ बिन्दुमा पुगेको छ । यसअघि आइतबार मात्रै २८२७.९३ बिन्दुमा पुगेर नयाँ रेकर्ड राखेको नेप्से परिसूचकले आज पुरानो रेकर्ड ब्रेक गरेको हो । सोमबार र मंगलबार करेक्सन देखिएको बजारमा बुधबार पुनस् उत्साह थपिएको थियो । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ५५.७६ अंकले बढेर २८२७.१२ बिन्दुमा पुगेको थियो ।



आज कूल २१८ वटा कम्पनीको ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता सेयर खरिदबिक्री हुँदा १६ अर्ब ९० करोड ७० लाख २० हजार २८१ रुपैयाँको कारोबार भएको छ । आज कारोबार रकममा पनि उछाल आएको छ । आइतबार १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४४ रुपैयाँ बराबरको कारोबार गरी बजारले नयाँ रेकर्ड राखेको थियो ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा मात्र उपसमूहको सेयर बढेको छ भने बाँकी ४ वटा उपसमूहको सेयर घटेको छ ।