नाजिर हुसेनले खेल्ने तीन फिल्म

नायक तथा मोडल नाजिर हुसेनले तीनवटा चलचित्रमा साइन गरेका छन् । तर ती तिनैवटा चलचित्रको छायाङ्कन सुरु हुन नसक्दा नाजिरको चलचित्रमा खासै काम नभएको जस्तो देखिएको छ ।

नाजिरले पहिलो लकडाउनलगतै चलचित्र ‘चिलगाडी’ साइन गरेका थिए । तर यस चलचित्रको काम यसपछि अगाडि बढेको छैन । चलचित्रको सम्पूर्ण टिम फाइनल नभएकाले पनि यो चलचित्रको काम अगाडि बढ्न नसकेको हो ।

नाजिरले अभिनय गर्न लागेको चलचित्र ‘तिमीसँग हुने मन छ’ को छायाङ्कन वैशाखको पहिलो साताबाट सुरु गर्ने तयारी गरिएको थियो । तर नेपालमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढेपछि यस चलचित्रको काम सुरु हुन सकेन । दिवाकर भट्टराइले निर्देशन गर्न लागेको यस चलचित्रमा नाजिरले नायिका दीपिका प्रसाईसँग काम गर्दै छन् ।

यस्तै नाजिरले चलचित्र ‘हुतुतु’ पनि साइन गरेका छन् । यस चलचित्रलाई निर्माता सन्तोष सेनले निर्माण गर्दै छन् । तर, यस चलचित्रको काम पनि कहिलेबाट सुरु हुन्छ पक्का छैन ।

कोरोना कहरले सबैभन्दा बढी प्रभावित भएको चलचित्र क्षेत्र कहिलेबाट पुरानै अवस्थामा फर्किने हो भन्न सकिने अवस्था छैन । यस्तोमा नाजिरले अझै केही समय म्यूजिक भिडियोमार्फत नै दर्शकमाझ आफ्नो अभिनय देखाउनुपर्ने छ ।