प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध

प्रदेश २ मा प्रदेशसभा सदस्यहरुसँग समन्वय नै नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै विपक्षी दलबाट प्रदेशसभा बैठक अवरुद्ध भएको छ । बैठक अवरुद्ध भएपछि एक घन्टाका लागि प्रदेशसभा बैठक स्थगित गरिएको सभामुख सरोज कुमार यादवले जनाएका छन् ।

 

बिज्ञापन

प्रदेशसभा बैठक सुरु हुनासाथ  विपक्षी दलका प्रदेशसभा सदस्यहरुले सशर्त अनुदान स्थानीय पालिकाहरुमा समन्वय नगरी पठाइएको भन्दै बैठक अवरुद्ध गरेका हुुन् । विपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका प्रदेशसभा सदस्यहरु प्रदेशसभा बैठक सुरु भए लगत्तै बिरोध जनाएपछि सभामुख सरोज कुमार यादवले प्रदेशसभा बैठक १ घण्टाका लागि स्थगित गरेका थिए ।

विपक्षी नेकपा एमालेका प्रदेशसभा सदस्य सुन्दर बहादुर विश्वकर्माले प्रदेशसभा सदस्यहरुसँग समन्वय गरी योजना छनौट गरेर अख्तियारी पठाउने निर्णय गरेपनि सरकारले आफू खुशी योजना बनाएर सशर्त अनुदानको बजेट पठाइएकोमा आपत्ति जनाए ।

 

उनले आफूहरुसँग योजना माग त गरियो तर ती सबै योजनालाई रद्दीको टोकरीमा फालेर प्रदेश सरकारले सशर्त अनुदान पठाएको आज मात्रै थाहा पाएपछि बैठक अवरुद्ध गरेको स्पष्ट पारे ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य रामकुमार यादवले आफ्नो कार्यकर्ता पाल्ने अभिप्रायले सशर्त अनुदानको बजेटको सरकारले दुरुपयोग गरेको आरोप लगाए ।