
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वको सरकारका मन्त्री राजीव गुरुङ ( दीपक मनाङे) ले सत्ता पक्षको साथ छोडेपछि प्रतिनिधिसभा जस्तै गरी प्रदेश संसद विघटन हुने जोखिम टरेको छ ।

मुख्यमन्त्री गुरुङले विश्वासको मत लिनुअघि मनाङे विपक्षी गठबन्धनतिर लागेका हुन् । मनाङेको मोर्चा परिवर्तनसँगै गण्डकी प्रदेशमा पनि विपक्षी गठबन्धन बलियो हुन पुगेको छ। एक मतले बहुमत दाबी गर्न नसक्ने अवस्थामा रहेको विपक्षी गठबन्धनलाई मनाङेको साथ प्राप्त भएपछि सरकार बनाउन सक्ने आधार तयार भएको छ । जस कारण संसद विघटन गरी प्रदेश सभाको मध्यावधि निर्वाचनको मिति घोषणा गर्ने मुख्यमन्त्री गुरुङको योजनामा धक्का लाग्न सक्ने देखिएको छ ।



मुख्यमन्त्री गुरुङले बिहीबार विश्वासको मत लिने कार्य तालिका छ ।

निर्णायक मत देखिएका मनाङ्गे विपक्षी गठबन्धनमा लागेपछि उनले विश्वासको मत पाउने देखिँदैन । मुख्यमन्त्री गुरुङले पनि केन्द्र सरकारमा भएको जस्तै प्रयोग नगरी मध्यावधि घोषणा गर्ने तयारीमा थिए ।
संसद बचाउनका लागि एमालेलाई साथ दिन छोडेको उनले सञ्चार माध्यमलाई प्रतिक्रिया दिएका छन् । उनले ‘आफू एक जनाका कारण संसद विघटनबाट जोगिन्छ भने यो सरकारलाई किन साथ दिइरहने भन्ने लागेर आफूले विपक्षी गठबन्धनलाई साथ दिन लागेको’ बताएका छन् ।