
काठमाडौँ : सरकारले निजी मेडिकल कलेजलाई कानून मिचेर सम्बन्ध दिन लागेको विरोधमा वृहत् नागरिक आन्दोलनले आज (शुक्रबार) बालुवाटारमा विरोध प्रदर्शन गरेको छ । चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप बन्द गर्न माग गर्दै उनीहरुले बालुवाटारमा प्रदर्शन गरेका हुन् ।
कानून मिचेर झापाको विएण्डसी मेडिकल कलेजलाई सरकारले सम्बन्ध दिने तयारी गरेको भन्दै नागरिक अगुवाहरुले विरोध गरेका छन् । प्रदर्शनका क्रममा ‘स्वास्थ्य सेवा हो, व्यापार होइन’, ‘जनस्वास्थ्यमा प्रतिगमन भयो’ जस्ता प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।
प्रदर्शनमा उत्रिएका पत्रकार नारायण वाग्ले, सञ्जिव उप्रेतीसहित ८ जनालाई बालुवाटारबाट प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा लगिएको छ । बिहीबार चिकित्सा शिक्षा सुधार अभियान्ता डा. गोविन्द केसीले पनि विएण्डसीलाई कानूनविपरित सम्बन्धन नदिन चेतावनी दिएका थिए ।