दोर्दी खोलामा आएको बाढीले हिलेबजारका १५ बगायो

पोखरा : लमजुङको दोर्दी गाउँपालिकाको दोर्दी खोलामा आएको बाढीले हिलेबजारका १५ घर बगाएको छ । बाढीले बजारका ४ वटा बिजुलीको हाइटेन्सन खम्बा पनि ढालेको छ । जसका कारण विद्युत र फोन सम्पर्क पनि अवरुद्ध भएको वडाध्यक्ष तुलबहादुर घलेले जानकारी दिए ।

बाढीका कारण स्थानीय आमा समूहको घर, फुटबल मैदानलगायत सबै बगाएको वडाध्यक्ष घलेले बताए । ‘अरु ३, ४ वटा घर पनि, पक्की घरका पनि पिलर निकाल्न सुरु गरिसकेको छ । क्षति त कति पुग्यो, पुग्यो,’ उनले भने ।

बिज्ञापन

 

बाढीले दोर्दी खोलामाथि बनेको झोलुङ्गे पुलमा पनि क्षति पु¥याएकाले आवतजावत नै बन्द भएको उनले जानकारी दिए । हाइटेन्सन लाइन ढलेर पुलमा क्षति पु¥याएको उनले बताए ।

 

बाढी पीडितलाई बजार माथिको स्कुल तथा आफन्तको घरमा स्थानान्तरण गरिएको वडाध्यक्ष घलेले जानकारी दिए । उनले भने, ‘पुल पनि धरापमा छ । सबै मान्छेहरु एउटै ठाउँमा कोचाकोच भएर बस्नु भाछ । बिजोग भयो ।’

राहत तथा उद्दारका लागि जिल्ला प्रशासनलाई खबर गरिसकेको तर, गाउँ छिर्ने बाटो सबै पहिरोले क्षति भएकाले कठिनाइ भएको वडाध्यक्ष घलेले बताए ।