प्रशासकीय अधिकृतलाई मार्ने धम्की दिने कार्यालय सहयोगी पक्राउ

वीरगञ्ज : बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसित १५ लाख रुपैयाँ नदिए मार्ने धम्की दिएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सुवर्ण गाउँपालिका–४ हर्दिया टोलका २८ वर्षीय मुकेशप्रसाद यादव पक्राउ परेका हुन् । यादव गाउँपालिकामा नै करार सेवामा कार्यरत कार्यालय सहयोगी हुन् ।

 

प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवसँग अपरिचित नम्बरबाट फोन तथा म्यासेज गरी एक घण्टाभित्र १५ लाख रुपैयाँ दिनु नत्र गोली हानी हत्या गर्छु भनेर धम्की दिएको आरोप उनीमाथि छ ।

 

फोनको अडियो रेकर्डसहित प्रशासकीय अधिकृत श्रीवास्तवले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । अनुसन्धानको क्रममा यादवको संलग्नता देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

 

यादवले घटनामा भारतीय आफन्तको समेत प्रयोग गरेको खुल्न आएकोले उनीहरुको खोजी भइरहेको डीएसपी मिश्रले बताए । यादवविरुद्ध अदालतमा आपराधिक लाभसम्बन्धी मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।