
काठमाडौँ : बाढी–पहिरोसहितका प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनिकरण तथा नागरिकको सेवाका लागि सबै जिम्मेवार बन्न पूर्वराजा ज्ञानेन्द्र शाहले आग्रह गरेका छन् । बिहीबार वक्तव्य जारी गरेर पूर्वराजा शाहले प्राकृतिक विपत्ति सबैको चिन्ताको विषय भएकाले पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवम् राहतकारी व्यवस्था मिलाउने विषयमा सबै पक्षको गम्भीर ध्यान जानु पर्ने उल्लेख गरेका हुन् ।
उनले वक्तव्यमा भनेका छन्, ‘अवस्था विकराल नहोस्, अपार क्षति नहोस् र जनकल्याणकारी प्रबन्ध प्रभावकारी रुपमा होस् भन्ने हाम्रो आग्रह छ ।’ कोरोना भाइरसको महामारीसँग जुधिरहेका बेला मनसुनको प्रारम्भमै ठूलो धनजनको क्षति हुने गरि आएको बाढी पहिरोसहितका प्राकृतिक विपत्तिबाट आफू दुःखी भएको उनले वक्तव्यमा उल्लेख गरेका छन् ।
वक्तव्यमा भनिएको छ, ‘देश कोभिड–१९ को महामारीबाट आक्रान्त भइरहेको समयमा फेरि बाढी, पहिरो, नदी कटान जस्ता प्राकृतिक विपत्ति आइपरेको छ । हिमाल, पहाड र तराईका धेरै जिल्लामा कतिपय जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवम् ग्रामीण तथा शहरी बस्तीका बासिन्दाको उठीबास भएको दुःखद खबर सुन्दा, देख्दा हामीलाई दुखित तुल्याएको छ ।’
मनसुनको सुरुमै यस्तो क्षति भएकाले आउँदा दिन अझ चुनौतिपूर्ण हुने भन्दै पूर्वराजा शाहले सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनिकरण गर्ने तर्फ जिम्मेवार बन्नु पर्ने उल्लेख गरेका छन् । लगातारको वर्षासँगै विभिन्न नदी नालामा आएको बाढी तथा गएको पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ्गसहितका जिल्ला बढि प्रभावित भएका छन् ।