निजामती कर्मचारी अस्पतालमा बेथिति, ९ करोड घाटामा तर बाँडियो ४० लाख भत्ता

काठमाडौं । सहुलियत दरमा सरकारी कर्मचारीको उपचार गर्ने देशकै एक मात्र सरकारी अस्पताल सिभिल सर्भिस अस्पताल (निजामति कर्मचारी अस्पताल) झन्डै ९ करोड रुपैयाँ घाटामा गएको छ । अस्पताल प्रशासनका अनुसार आम्दानीभन्दा खर्च बढी हुँदा अस्पताल घाटामा गएको हो ।

 

घाटामा जानुको मुख्य कारण निजामती कर्मचारीलाई दिइएको छुटको सोध भर्ना नपाउनु हो । अस्पताल प्रशासनले दिएको जानकारीअनुसार अस्पताल अहिले झन्डै ९ करोड रुपैयाँ घाटामा छ ।

अस्पतालका प्रशासकीय अधिकृत रञ्जना नेपालका अनुसार अस्पताल व्यवस्थापनका क्रममा आम्दानीभन्दा खर्च बढी हुँदा अस्पताल घाटामा गएको हो । अस्पतालकी प्रशासकीय अधिकृत नेपालले भनिन्, ‘हामीले निजामती कर्मचारीलाई सहुलियत दिँदै आएका छौं । तर, सरकारले सोबापत हामीलाई बजेट उपलब्ध गराउँदैन ।’

 

उता, अस्पताल घाटामा रहे पनि कर्मचारीलाई झन्डै ४० लाख रुपैयाँ प्रोत्साहन भत्ता बाँडेको पाइएको छ । प्रोत्साहन भत्ताबारे अस्पतालका प्रशासन प्रमुख नेपालले आधारभूत तलबभन्दा कर्मचारीहरुलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन भत्ता उपलब्ध गराउने गरिएको बताइन् । उनले भनिन्, ‘३ सय ३४ जना कर्मचारीलाई कामको मूल्याकंनको आधारमा प्रोत्साहन भत्ता उपलब्ध गराउँछौं।

 

अस्पतालको सेवाबाट उपलब्ध भएको कुल रकमको १० प्रतिशत रकम प्रोत्साहन भत्ता शीर्षकमा खर्च हुन्छ ।’ यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।