सिँचाई योजनाले भलोहियाका कृषक खुशी

अनिल यादव/रौतहट : दुर्गा भगवती गाउँपालिकाअन्तर्गत भलोहिया गाउँमा नहर निर्माण कार्य शुरु भएको छ । स्थानीय वासिन्दालाई प्रत्यक्ष लाभान्वित गराउने यो नहर निर्माणले स्थानीय कृषकहरु खुशी भएका छन् ।

भलोहियास्थित डोरी नदिमा नहर निर्माण भइरहेको हो । करिब सय हेक्टर जग्गामा सिचाई सुविधा उपलब्ध गराउने प्रमुख उद्देश्यसहित थालिएको नहर निर्माणले यसैवर्ष पूर्णता पाउने बताइएको छ । यो नहर निर्माणका लागि गतवर्ष नै बजेट विनियोजन भएपनि कोरोना महामारीका कारण र स्थानीय वासिन्दाले जग्गा उपलब्ध गराउन नसक्दा गत वर्ष कार्य शुरु हुन सकेको थिएन । यो वर्ष स्थानीय किसानहरुले जग्गा उपलब्ध गराएर नहर निर्माणका लागि दबाब दिएपछि निर्माण कार्य थालिएको हो । कुल ५० लाख रुपियाँको लागतमा नहर निर्माण कार्य भइरहेको जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय गौरले जनाएको छ ।

बिज्ञापन

स्थानीय उपभोक्ता समितिमार्फत थालिएको निर्माण कार्य तीव्रताका साथ भइरहेको स्थानीय कृषक विकास महतोले बताए । नहर निर्माणले स्थानीय कृषकको खेतमा सहजै पानी उपलब्ध हुने र उत्पादकत्व बृद्धि हुने विश्वास उनले व्यक्त गरे । स्थानीय कृषकहरु सम्मिलित उपभोक्ता समिति गठन भएका र उनीहरुकै प्रत्यक्ष संलग्नता तथा रेखदेखमा निर्माण कार्य भइरहेकाले गुणस्तरीय कार्य भइरहेको अर्का कृषक राजु साहले बताए ।

डोरी नदिको सिचाई योजनाको हेडमा फलामे गेट लगाइने हुनाले पनि यो वर्षाका बेला भत्किदैन । फलामे गेटले गर्दा योजना सुरक्षित र बलियो हुन्छ । नजिकै बागमती नदि भएकाले यसको निर्माण बलियो बनाउनुपर्ने अवस्था छ । योजना निर्माणको निरीक्षण गर्ने आएका जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय गौरका प्रमुख तथा इन्जिनियर सुमन झाले योजनाको कार्य प्रगति सन्तोषजनक रहेको बताए । सय हेक्टर जग्गामा सिचाई सुविधा उपलब्ध गराउने गरी थालिएको यो योजनाले कृषकको उत्पादकत्व बृद्धि गरी आयआर्जनमा सकारात्मक प्रभाव पर्ने बताउँदै उनले योजनाको प्राविधिकहरुले नियमित रेखदेख तथा निगरानी गरिरहेको र गुणस्तरीय काममा कुनै सम्झौता नहुने बताए ।