सुडान घोटाला प्रकरणमा  दोषी ठहर गरेलगत्तै फरार रहेका पुर्व आईजीपी ठकुरीले आज आत्मसमर्पण गर्ने

काठमाडौ । बहुचर्चित सुडान घोटाला प्रकरणमा सर्वोच्च अदालतले दोषी ठहर गरेलगत्तै फरार रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) ठकुरीले आज आत्मसमर्पण गर्ने भएका छन् । उनले सर्वाेच्च अदालतमा उपस्थित भएर आत्मसमर्पण गर्न लागेको परिवारिक स्रोतले जनाएको छ ।

संयुक्त राष्ट्र संघअन्तर्गत सुडानको डार्फरमा तैनाथ नेपाल प्रहरीका लागि खरिद गरिएको बन्दोबस्ती सामान (एपीसी) खरिद प्रकरणमा अनियमितता पुष्टि गर्दै उनीसहित पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) श्यामसिंह थापा र दीपकसिंह थाङ्देनलाई समेत सर्वोच्चले भ्रष्टाचारी ठहर गरेको थियो ।

बिज्ञापन

सर्वोच्चले राणालाई दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिमाना हुने सजाय सुनाएको थियो भने गुरुङ र ठकुरीसहित एआईजीहरुलाई एक–एक वर्ष कैद र जनही ४० हजार रुपैयाँ जरिमानाको फैसला गरेको थियो । ठकुरीबाहेक अन्य चारैजनाले यसअघि नै कैद सजाय भुक्तान गरिसकेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदनका आधारमा दायर भएकाे सुडान घोटालासम्बन्धी मुद्दामा विशेष अदालतले भने १ फागुन २०६८ मा दुईजना एआईजीबाहेक राणा, गुरुङ र ठकुरीलाई भ्रष्टाचारी साबित गर्दै एपीसी खरिदको ४४ करोडमध्ये २८ करोडभन्दा बढी भ्रष्टाचार भएको भन्दै तीनजनाबाट २८ करोड असुल गर्न निर्देशन दिएको थियो ।

विशेषको फैसला चित्त नबुझेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगसहित पूर्वआईजीपीहरुले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । त्यसको ६ वर्षपछि १७ वैशाख २०७४ मा तत्कालीन सर्वाेच्च प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतको फैसला बदर गर्दै जरिमाना र कैद सजायसमेत घटाए फैसला गरेको थियो ।