स्यालुट खाँदै जेल गए पूर्वआइजिपी ठकुरी | ओमकार टाईम्स

काठमाडौ । सुडान घोटाला प्रकरणमा सर्वोच्च अदालतबाट दोशी ठहर भएका पूर्व प्रहरी महानिरीक्षक (आइजीपी) रमेश चन्द ठकुरी डिल्लीबजार कारागार चलान भएका छन् ।

अदालतले कैद र जरिमानाको फैसला गरेको लामो समयपछि आज सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका ठकुरीलाई अदालत प्रशासनले कारागार चलान गरेको हो ।

सर्वोच्चमा दिउसो ४ बजेतिर पुगेका ठकुरीलाई सर्वाेच्च प्रशासनले डिल्लीबजार कारागारमा पठाउने पत्र तयार गर्यो । त्यो पत्र वोकेर प्रहरीले उनलाई सिधै डिल्लीबजार कारागार पुर्यायो ।

प्रहरी भ्यानको स्कर्टिङसहित कारागार पुग्दा त्यहाँका प्रहरीले उनलाई स्यालुट गरेका थिए । जवकी सर्वोच्च पुग्दा भने उनलाई गेटमा बसेका प्रहरीले वास्तै गरेनन । हाल उनलाई कारागार भित्र लगिसकिएको छ ।

संयुक्त राष्ट्र संघअन्तर्गत सुडानको डार्फरमा तैनाथ नेपाल प्रहरीका लागि खरिद गरिएको बन्दोबस्ती सामान (एपीसी) खरिद प्रकरणमा अनियमितता पुष्टि गर्दै उनीसहित पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) श्यामसिंह थापा र दीपकसिंह थाङ्देनलाई समेत सर्वोच्चले भ्रष्टाचारी ठहर गरेको थियो ।

सर्वोच्चले राणालाई दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिमाना हुने सजाय सुनाएको थियो भने गुरुङ र ठकुरीसहित एआईजीहरुलाई एक–एक वर्ष कैद र जनही ४० हजार रुपैयाँ जरिमानाको फैसला गरेको थियो । ठकुरीबाहेक अन्य चारैजनाले यसअघि नै कैद सजाय भुक्तान गरिसकेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदनका आधारमा दायर भएकाे सुडान घोटालासम्बन्धी मुद्दामा विशेष अदालतले भने १ फागुन २०६८ मा दुईजना एआईजीबाहेक राणा, गुरुङ र ठकुरीलाई भ्रष्टाचारी साबित गर्दै एपीसी खरिदको ४४ करोडमध्ये २८ करोडभन्दा बढी भ्रष्टाचार भएको भन्दै तीनजनाबाट २८ करोड असुल गर्न निर्देशन दिएको थियो ।

विशेषको फैसला चित्त नबुझेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगसहित पूर्वआईजीपीहरुले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । त्यसको ६ वर्षपछि १७ वैशाख २०७४ मा तत्कालीन सर्वाेच्च प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतको फैसला बदर गर्दै जरिमाना र कैद सजायसमेत घटाए फैसला गरेको थियो । शिलापत्रबाट