नायिका जेनी कुँवरको हत्या कि आत्महत्या ? दुबै कोणबाट अनुसन्धान गर्दै प्रहरी

काठमाडौं । बिहीवार राति नायिका तथा निर्मात्री जेनी कुँवर काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा मृत फेला परिन् ।

प्रहरी वृत्त नयाँ वानेश्वरका अनुसार प्रारम्भिक अनुसन्धानमा कुँवरले आत्महत्या गरेको देखिएको छ । डिप्रेशनको कारण उनले आत्महत्या हुनसक्ने प्रहरीको अनुमान छ ।

तर, सार्वजनिक फोटोमा कुँवर ढोकामा झुण्डिएको र दुबै खुट्टा भुइँमा टेकेको देखिन्छ । यसकारण उनको आत्महत्या कि हत्या भन्ने प्रश्न धेरैले गरिरहेका छन् ।

घटनाको अनुसन्धान गरिरहेका एपसी कृष्ण पंगेनी, कुँवरको आत्महत्याबाटै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिए पनि अन्य विषयमा समेत अनुसन्धान भइरहेको बताउँछन् । उनी आत्महत्या वा हत्या नै हो भनेर ठोकुवा गर्न नसकिने बताउँछन् ।

उनले नेपाली ‘प्रारम्भिक अनुसन्धानबाट आत्महत्या देखिएको छ । तर, पोष्टमार्टम रिपोर्ट नआएसम्म केही भन्न सकिँदैन । विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’

कुँवर ढोकामा झुण्डिएको र दुबै खुट्टा भुइँमा टेकेकोबारे उनले भने, ‘मानिसको मृत्यु हुनेको भनेको टाउकोमा भार परेपछि हो । यो घटनामा पनि त्यस्तै हो कि भन्ने आशंका छ । खुट्टा कहाँ र कस्ता थिए भन्ने कुरा ठूलो हैन । तर, त्यसलाई पनि नजरअन्दाज गर्न सकिँदैन । त्यस विषयमा पनि अनुसन्धान हुन्छ ।’

कुँवरको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

प्रहरी वृत्त नयाँ वानेश्वरका अनुसार जेनीको ‘सुसाइड नोट’ समेत भेटिएको छ । ‘सुसाइड नोट’मा ‘मेरो मृत्युमा कसैको दोष छैन । प्रहरीले पनि सोही हिसाबले हेर्नुहोला,’ भनि लेखिएको छ ।

आत्महत्या गर्नुको कारण लामो समयदेखि बिरामी रहेको, मानसिक अवस्था ठीक नभएको र जति औषधिले पनि केही काम नगरेको उल्लेख छ । डेढ पृष्ठ लामो सुसाइड नोट कुँवर आफैंले लेखेकी हुन् वा होइन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।