विदेशमा भने जस्तो काम नपाएर स्वदेश फर्किएका व्यक्तिको दलालको कुटपिटबाट मृत्यु

सप्तरी । वैदेशिक रोजगारीमा भने जस्तो काम नपाएको विषयमा भएको विवादले उग्र रुप लिँदा यहाँ शुक्रबार एक जनाको कुटपिटबाट मृत्यु भएको छ । कुटपिटबाट घाइते खडक नगरपालिका –९ लालपट्टीका ५८ वर्षीय दाउद मियाँको उपचारका क्रममा शुक्रबार मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीमा पठाएको व्यक्तिसँग भने जस्तो काम नपाएकाले पैसा फिर्ता मागेपछि दुई पक्षबीच बिहीबार राति विवाद भएको थियो । सोही विषयमा कुटपिट हुँदा दाउराको प्रहारबाट टाउकामा चोट लागेका दाउदको राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शुक्रबार नै परीक्षण भएको छ । आरोपितको पहिचान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले बताए ।