कोपा अमेरिकाः पेरुलाई हराउँदै कोलम्बिया तेस्रो

काठमाडौं – कोलम्बियाले कोपा अमेरिका फुटबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।

आज बिहान सम्पन्न भएको खेलमा पेरुलाई ३–२ गोलले पराजित गर्दै कोलम्बिया तेस्रो भएको हो ।

बिज्ञापन

कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरे । डियाजले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि कोलम्बिया विजयी बन्यो ।

ब्रासिलियामा भएको खेलमा पहिले अग्रता पेरुले लिएको थयो । यसीमार योतुनले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए । तर अग्रता लामो समय टिकेन ।

दोस्रो हाफको शुरुमै कोलम्बियाले बराबरी गोल फर्कायो । जुवान क्वाड्राडोले ४९औं मिनेटमा बराबरी गोल गरे । लुइस डियाजले ६६औं मिनेटमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए । तर ८२औं मिनेटमा पेरुका जियानलुका लापाडुलाले गोल गर्दै खेल बराबरी गरे ।

९० मिनेटसम्म बराबरी भएपनि इन्जुरी टाइमको चौथो मिनेटमा डियाजले निर्णायक गोल गरेपछि कोलम्बिया विजयी भएको हो ।

पेरुलाई पराजित गर्दै तेस्रो बन्न सफल भएको कोलम्बियाले ३० लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ ।

कोपा अमेरिकाको उपाधिका लागि आइतबार बिहान पौने ६ बजे ब्राजिल र अर्जेन्टिना भिड्दैछन् ।