कोरोना संक्रमण बढेपछि सिदिङ्वामा भएन बजेट अधिवेशन

ताप्लेजुङ : सिदिङ्वा गाउँपालिकाले बजेट अधिवेशन गर्न सकेको छैन । पालिकामा कोभिड सङ्क्रमण बढ्दै गएपछि अधिवेशन हुन नसकेको हो । स्थानीय तहहरुले असार १० गतेभित्र बजेट अधिवेशन गरिसक्नुपर्ने व्यवस्था रहे पनि कोभिड सङ्क्रमण बढ्दै गएपछि गाउँपालिकाले आज बोलाएको सातौँ गाउँसभा अनिश्चितकालका लागि स्थगन गरेको गाउँपालिकाले जनाएको छ ।

कोरोना सङ्क्रमणको भयावह अवस्था सिर्जना हुँदै गएको भन्दै आजका लागि तय गरिएको गाउँसभा अनिश्चितकालका लागि स्थगन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले बताए । एकपछि अर्को स्थानमा कोरोना सङ्क्रमित थपिँदै गएकाले आज बोलाइएको गाउँसभा रोक्नुपरेको गाउँपालिकाले जनाएको छ । अनुकूल समय भएपछि गाउँसभाको अर्को मिति तय गरिने लिङ्देनले बताए ।

मङ्गलबार मात्रै गाउँपालिकाको केन्द्र वडा नं ४ साब्लाखुमा १७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सोमबार वडा नं ६ मेहेलेमा १६ जनामा सङ्क्रमण देखिएको गाउँपालिकाले जनाएको छ । गाउँसभा तथा बजेट अधिवेशनमा पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जिम्मेवारी पाएका पालिका अध्यक्ष नरबहादुर कडरियालाई कोरोना सङ्क्रमण भएपछि सिदिङ्वाले असार १० भित्रै बजेट ल्याउन नसकेको पालिकाले जनाएको छ । अध्यक्ष कडरिया कोरोेना सङ्क्रमणमुक्त भएपछि उनले आजका लागि बजेट अधिवेशन बोलाएका थिए ।

यद्यपि पालिकाका विभिन्न स्थानमा सङ्क्रमणको दर बढ्न थालेपछि आजका लागि बोलाइएको बजेट अधिवेशन पनि तत्कालका लागि स्थगन गरिएको लिङ्देनले बताए । ताप्लेजुङका नौमध्ये सिदिङ्वाबाहेक सबै स्थानीय तहले आगामी आव २०७८/७९ का लागि असार १० भित्रै बजेट, नीति तथा कार्यक्रम ल्याइसकेका छन् ।