खतरामा रहेका अफगानी दोभाषेहरुलाई अन्यत्रै सार्ने अमेरिकी तयारी

अमेरिकाले अफगानी दोभाषेहरुलाई अन्यत्र देशमा सार्ने काम सुरु गर्दैछ । यी दोभाषेहरुले युद्धका दौरान अमेरिकी नेतृत्वको सेनालाई सहयोग गरेका थिए ।

तर, अब अमेरिकी सेना फर्कने भएपछि उनीलाई पनि अफगानिस्तान बस्न खतरा छ । ह्वाइट हाउसले जुलाईको अन्तिम सातादेखि ‘अपरेशन एलाई रिफ्युजी’ सुरु गरिने जनाएको छ । अमेरिकाले ११ सेप्टेम्बरसम्म सबै सैनिकहरुलाई फिर्ता बोलाउने समयसीमा यसअघि तोकेको थियो । त्यसभन्दा अघि नै दोभाषेहरु स्थानान्तरणको प्रक्रिया सुरु हुनेछ ।

बिज्ञापन

पछिल्ला केही साता तालिवानले देशका धेरै भूभाग कब्जामा लिन थालेको छ । ‘यी सहासी व्यक्तिहरु हुन् । पछिल्ला धेरै वर्षमा उनीहरुले खेलेको भूमिकालाई हामी सम्मान गर्न चाहन्छौं,’ ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले दोभाषेहरुबारे भनिन् ।

सुरुवाती चरणमा २५ सय व्यक्तिहरुलाई सारिने एक अधिकारीकाले नाम उल्लेख नगर्ने सर्तमा रोयटर्सलाई जानकारी दिएका छन् । भिसा प्रक्रिया पूरा नभएसम्म उनीहरुलाई अमेरिका वा तेस्रो मुलुकमा सैनिक क्याम्पमा राखिनेछ ।अफगानिस्तानमा २००१ मा युृद्ध सुरु भएयता अमेरिकी सरकार वा अमेरिकी नेतृत्वको सेनासँगै काम गर्नेहरुलाई लागि विशेष आप्रवासन भिसा कार्यक्रम ल्याइएको छ ।

अफगानिस्तानका धेरै भूभाग तालिवानले कब्जा गर्न थालेसँगै यी व्यक्तिहरुमाथि खतरा बढेको छ । तालिवानले ईरान, ताजकिस्तान र तुर्केमिनिस्तानका सीमा क्षेत्रमा अफगानी सेनालाई बिस्थापित गरेर बोर्डर पोस्ट कब्जा गरिसकेको छ ।

बुधबार तालिवानी मिलिसियाहरुले कन्दहर नजिकको क्षेत्रमा आफ्नो फहराएका थिए । तालिवानको आक्रमणमा परेर अफगानी सुरक्षा फौज पूर्णतः ध्वस्त हुने डर धेरैलाई छ । सन् २००१ मा अफगानिस्तानमा युद्ध घोषणा गरेका तत्कालीन  अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले सेना फिर्ती निर्णय निकै खराब हुनसक्ने चेतावनी दिएका छन् । अमेरिकाले यस्तो निर्णय गर्दै अफगानी जनतालाई मृत्युको मुखमा छाडिदिएको उनको दाबी छ ।