
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट संसद बैठकमा पेस गर्ने भएको छ । साउन ३ देखि आव्हान भएको संसद बैठकमा बजेट टेबुल गर्ने जानकारी दिँदै अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित हुने/नहुने त्यसपछि नै निर्क्योल हुने बताए ।

केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याएको थियो । सर्वोच्चको परमादेशपछि नियुक्त देउवा नेतृत्वको गठबन्धन सरकारका केही मन्त्रीले सो बजेटलाई के गर्ने भनेर विज्ञसँग छलफल गर्ने बताइसकेका छन् ।



अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले भने, ‘अहिले बजेटलगायतका अध्यादेशका विषयहरू छ । सदन ३ गते बोलाइसकिएको छ । त्यहाँ नै यसलाई टेबुल गरिदैँछ । त्यहाँबाट छलफल गरेर त्यो कसरी अगाडि बढ्छ, त्यसलाई स्वीकार, अस्वीकार, प्रतिस्थापन के हुन्छ भन्ने कुरा त्यहाँ गइसकेपछि तपाईंहरूलाई जानकारी हुने नै छ ।’

अर्थमन्त्री शर्माले हालको अर्थतन्त्रको अवस्थाको सम्बन्धमा श्वेतपत्र पनि जारी गर्ने बताए । पुँजी बजारको समस्या समाधान गर्न सर्वसाधारणको हित हुने गरी नीति निर्माण गर्ने भन्दै उनले भने, ‘पूँजीबजारलगायतका समस्याहरू छन् । त्यसलाई पनि सर्वसाधारण जनतालाई कसरी उनको हितमा हुन्छ भन्ने बारेमा पनि हामी नीति, निर्माण गर्नेछौँ ।’