
काठमाडौ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले शान्ति सुव्यवस्था कायम गर्ने सन्दर्भमा यही असार ५ गते सर्लाहीमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीसँगको मुठभेटमा मृत्यु भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उनले जनपरिषद् गठन गर्ने, शान्ति सुरक्षामा खलल पुर्याउने र संविधान विरोधी गतिविधि गरेकाले प्रहरीसँगको मुठभेटमा पौडेलको निधन भएको स्पष्ट गरे । उनले भने, ‘कथित जिल्ला इन्चार्ज पौडेलले प्रहरी देख्नेबित्तिकै फायर गरेको र प्रहरीले जवाफी फायर गर्दा ‘मिस फायर’ भई उनको निधन भयो ।’
यस्तै यही असार १५ गते सर्लाहीको ईश्वरपुर नगरपालिका १३ मा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय अनुप रायको निधनपछि स्थानीयवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेको बताउँदै उनले यातायात सञ्चालन गर्ने क्रममा प्रहरीसँगको झडपमा स्थानीयवासी सरोजनारायण सिंहको मृत्यु भएको स्पष्ट गरे ।
मृतक राय र सिंहको परिवारलाई जनही रु २५ २५ हजार काजकिरियाका लागि प्रदान गरेको तथा बालक रायको परिवारलाई छुट्टै रु पाँच लाख क्षतिपूर्ति प्रदान गरिसकिएको उनको भनाइ थियो । गृहमन्त्रीको जवाफमाथि चित्त नबुझेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले प्रतिप्रश्न गरेका थिए ।
गृहमन्त्री थापाले सांसदको प्रश्नको जवाफमा सर्लाही घटनाका बारेमा सदनले आवश्यकता महसुस गरेका खण्डमा छानबिन समिति बनाउन सरकारलाई कुनै आपत्ति नभएको बताए । उनले भने ‘सर्लाहीको घटना दुःखद् हो, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार सचेत छ, जनतालाई दमन गर्ने नीति सरकारको छैन ।’
काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले मुठभेटमा मारिएका भनिएका पौडेलको हात कसरी भाँच्चियो भन्दै उचित जवाफ दिन आग्रह गर्दै बालक रायको मृत्युका विषयमा न्याय माग्न गएका स्थानीयवासीमाथि प्रहरीले किन गोली चलाउनुपर्यो भन्ने प्रश्न गरे ।
सांसद खाँड र सोही दलका भरतकुमार शाह, उमा रेग्मी, देवेन्द्रराज कँडेल, डिला सङ्ग्रौला, मीनबहादुर विक, गगनकुमार थापा, मीना पाण्डे, दिलेन्द्रप्रसाद बडू र पार्वती डिसी चौधरीले पौडेलको मृत्यु र बालक रायको निधनका बारेमा छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरे ।