
काठमाडौँ : कोरोना संक्रमण बढेसँगै काठमाडौँ उपत्यकाको निषेधाज्ञामा थप कडाइ गरेर थप्ने तयारी गरिएको छ । उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा पटक पटक थपिँदै आएको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीका अनुसार यसअघि संक्रमण घटेको भनी खुकुलो गरिएका केही क्षेत्रलाई कडाइ गर्दै निषेधाज्ञा पुनः थप्ने तयारी छ ।



यद्यपि यसबारे थप निर्णय भने आज अपरान्ह बस्ने उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का सीडीओहरुको संयुक्त बैठकले गर्ने उनले जानकारी दिए । केही क्षेत्रमा कडाइ गर्दै कम्तीमा एक साता निषेधाज्ञा थप्ने तयारी भएको बताइएको छ ।

पछिल्लो केही दिनदेखि संक्रमण पुनः बढेकाले होटल रेष्टुरेन्टसहितका केही निश्चित क्षेत्रमा केही कडाइ गरिने प्रजिअ पराजुलीको भनाइ छ । साथै, यातायातमा समेत पुनः जोरबिजोर गर्नेबारे पनि छलफल हुने उनले बताए ।