भरतपुर क्यान्सर अस्पतालमा १८५ कोरोना संक्रमितको उपचार हुदै

चितवन : भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विगत तीन महिनाको अवधिमा १८५ कोभिड–१९ सङ्क्रमितलाई सेवा दिएको छ । अस्पतालले क्यान्सरको उपचारसँगै छुट्टै कोभिड वार्ड सञ्चालन गरेर सेवा दिएको हो । अस्पतालले कोरोनाको दोस्रो लहरसँगै गत वैशाख २० गतेदेखि कोरोनाको उपचारसमेत शुरु गरेको हो । क्यान्सर रोगको मात्रै उपचार गर्दै आएको अस्पतालले जिल्लामा कोरोना सङ्क्रमितका लागि शय्या र अक्सिजन अभाव हुने भएपछि सेवा शुरु गरेको जनाएको छ ।

अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माका अनुसार हालसम्म १८५ कोरोना सङ्क्रमितको उपचार गरिएको छ । तीमध्ये १४७ जना निको भएर घर गइसकेका छन् भने १० जनाको उपचार भइरहेको छ । अठ्ठाइस जनाको उपचार गर्दागर्दै मृत्यु भएको छ । उपचार गरिएकामध्ये केही क्यान्सरका बिरामी, कुरुवा हुन् भने केही स्थानीय र बाहिरी जिल्लाबाट कोरोना उपचारका लागि मात्रै आएका हुन् ।

बिज्ञापन

गत वैशाख २० गते क्यान्सर उपचारका लागि आउने बिरामीलाई कोरोना पोजेटिभ देखिएमा उपचार गर्ने गरी २० शय्याबाट यो सेवा शुरु गरिएको डा शर्माले जानकारी दिए । उनले भने, “क्यान्सरका बिरामीलाई सङ्क्रमण भयो भने घरमा पठाउन पनि नमिल्ने, अरु अस्पतालले पनि नहेर्ने अवस्था आएपछि सेवा शुरु गरेका हौँ ।” क्यान्सरका बिरामीलाई सङ्क्रमण भएर अरु अस्पतालमा पठाउँदा यहीँबाट चिकित्सकसमेत पठाउनुपर्ने अवस्था आएपछि यहीँबाट सेवा शुरु गरेको उनको भनाइ थियो ।

कोरोनाको दोस्रो लहर बढ्दै जाँदा सङ्क्रमितको उपचारका लागि जिल्लामा शय्या अभाव हुने देखिएपछि जेठ १ गतेदेखि सेवा विस्तार गर्दै १४० शय्या पु¥याइएको उहाँले बताउनुभयो । तीमध्ये ८८ साधारण, ४० एचडियु, १२ आइसियू र चार भेन्टिलेटर रहेका थिए । उपनिर्देशक डा शर्माले भने, “केन्द्रदेखि जिल्लासम्मबाट कोरोना सङ्क्रमितको उपचारका लागि सघाउन आग्रह गरिएपछि वार्ड सञ्चालन गरेर सेवा दिएका हौँ ।” अस्पतालको पुरानो भवनमा रहेका वार्डलाई नयाँ भवनमा रहेका अरु वार्डसँग मिसाएर पुरानो भवनमा कोरोना सङ्क्रमिको उपचार गरिएको थियो ।

पछिल्लो समय सङ्क्रमितको सङ्ख्या घट्दै गएपछि अस्पतालमा रहेको हस्पिसमा सङ्क्रमितका लागि १५ शय्या छुट्याइएको छ । यहाँ हाल १० सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालको पुरानो भवनमा साविककै वार्ड पुनः नियमित सञ्चालन गरी सेवा सञ्चालन गरिएको अस्पतालका नर्सिङ विभाग प्रमुख सविता पन्थीले बताइन् ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले कोरोना महामारीको समयमा क्यान्सरको उपचारमा कुनै असर नपर्ने गरी कोरोना सङ्क्रमितको समेत उपचार गरेको बताए । उनले भने, “क्यान्सर उपचार गराउन आउने कतिपयलाई सङ्क्रमण हुने गरेको पाइयो । उनीहरुलाई पनि यहीँबाट क्यान्सर र कोरोना दुवैको उपचार गरिरहेका छौँ ।” जिल्लामा शय्या र अक्सिजन अभाव हुने देखिएपछि कोरोना उपचार विस्तार गरेको कार्यकारी निर्देशक डा गौतमले बताए । उनले भने, “हामीसँग आफ्नै अक्सिजन प्लान्ट र पर्याप्त भौतिक पूर्वाधार भएका कारणा क्यान्सरसँगै कोरोनाको उपचार सम्भव भयो ।”