
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई आदिवासी जनजाति युवा विद्यार्थीले सार्वजनिक कार्यक्रमस्थलमै पसेर दुर्व्यवहार गरेका छन् ।




आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९औं सञ्चालक परिषद् बैठकमा सहभागी हुन शुक्रवार जावलाखेल पुगेका मन्त्री पण्डितविरुद्ध आदिवासी जनजाति युवा तथा विद्यार्थीले बैठकस्थलमै नाराबाजी गरेका हुन् ।

त्यसक्रममा कालोझण्डा देखाउँदै भएको हुलदंगाका कारण मन्त्री पण्डित बैठकमा सहभागी नभई फर्किएका छन् भने बैठक स्थगित भएको छ ।
मन्त्री पण्डित पुल्चोकस्थित मन्त्री क्वार्टरमा फर्किएको जावलाखेल प्रहरीले जनाएको छ। प्रदर्शनकारीले ‘लोक सेवाको विज्ञापन खारेज गर् , लालबाबु पण्डित राजीनामा दे’लगायतका नारा लगाएका थिए ।
लोक सेवाले ९ हजार १ सय ६१ पदका लागि खोलेको विज्ञापन संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत भएको भन्दै विरोध हुँदै आएको छ ।
त्यस सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि आयोगले तीव्र ढंगले परीक्षाको तयारी गरिरहेको छ । पहिलो चरणको परीक्षा यही साउन ३ गतेबाट शुरू हुँदैछ ।