
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको प्रगति विवरण सुनाउँदा नेपालमा तुइनलाई विस्थापित गरेको फेहरिस्त सुनाउन कहिल्यै छुटाउँदैन थिए । तर, शुक्रबार ओलीको शब्दमा ‘तुइनमुक्त’ भएको नेपालकै दार्चुलामा तुइनबाट नदीमा खसेर एक नेपाली युवक बेपत्ता भएका छन् ।
स्थानीयको दाबी छ – यो दुर्घटना होइन, हत्या हो, ती युवकले तुइन प्रयोग गरिरहेकै बेला भारतीय सीमा सुरक्षा बलका जवानले तुइनलाई काटिदिँदा उनी नदीमा खसेर बेपत्ता भएका हुन् ।
सत्तारुढ नेपाली काँग्रेसले विज्ञप्ति नै निकालेर सोही आरोप लगाउँदै यस विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । यसबारे अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
दार्चुलाको व्यासबाट भारतको उत्तराखण्ड राज्यमा पर्ने पिथौरागढ जाने क्रममा तुइनको तार काटिदिँदा एक नेपाली बेपत्ता भएको भनिएको घटनाबारे अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर नरेन्द्र बहादुर चन्दका अनुसार शुक्रबार बिहानदेखि एक व्यक्ति बेपत्ता भएको भए पनि तुइन काटिएको हो कि होइन भन्ने यकिन नभएको बताएका छन् ।
चन्दका अनुसार शुक्रबार बिहान साढे ८ बजे दार्चुला जिल्लाको व्यास गाउँपालिका २ माल भन्ने स्थानबाट भारत उत्तराखण्ड जिल्लाको पिथौरागढमा पर्ने पांगल भन्ने स्थानमा जाने क्रममा व्यास गाउँपालिका २ माल बस्ने ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका छन् । भारतीय पक्षले तुइनको तार काटिदिएर एक नेपालीको हत्या गरेको आरोप लागे पनि तार काटिएको हो कि होइन भन्ने पुष्टि नभएको इन्स्पेक्टर चन्दले बताए ।
धामीसँगै अन्य ४ जना युवाहरू पनि भारत गएकामा ४ जना युवाहरू तुइन पार गरिसकेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)का २ जवान आएको बताइएको छ । एसएसबीका जवान आएको देखेपछि ४ जना युवाहरू भागेको तर, त्यहीबेला जयसिंह धामी तुइन तर्दै गर्दा एसएसबीले तुइनको तार काटिदिएको आरोप छ ।रातोपाटीबाट