
काठमाडौं । बिहीबारदेखिको वर्षाका कारण आएको बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या ६५ पुगेको छ । प्रहरी प्रधान कार्यालयले जारी गरेको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेमा ४१ पुरुष र २४ महिला रहेका छन् ।
बाढी, पहिरो र डुबानमा परी हालसम्म ३० जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा १८ पुरुष र १२ महिला रहेको प्रहरीले जनाएको छ । यस्तै, २१ पुरुष र १७ महिला गरी ३८ जना घाइते भएको बताइएको छ । देशभरबाट एक हजार ४४६ जनाको उद्धार गरिएको छ ।
यस्तै, गृह मन्त्रालयका अनुसार ३३ हजारभन्दा बढी मानिस विपद्बाट प्रभावित भएका छन् । गृहमन्त्री रामबहादुर थापाले राहत र उद्धारमा कुनै कसर बाँकी नराखेको जानकारी दिएका छन् ।
मृत्यु भएका ६५ मध्ये ४८ जनाको सनाखत भएको छ भने बेपत्ताको खोजीकार्य भइरहेको छ ।