धनकुटामा पुरुषलाई यौनहिंसा गरेको आरोपमा चिकित्सक पक्राउ

धनकुटामा अस्पताल भर्ना भएका बिरामी पुरुषलाई यौनहिंसा गरेको आरोपमा एक जना चिकित्सक पक्राउ परेका छन् । बिरामीलाई यौनहिंसा गरेको आरोपमा जिल्लाको धनकुटा–७ स्थित सुवास मेडिकलका डा. राज शर्मालाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी दीपककुमार रायका अनुसार पाख्रीबास नगरपालिकाका ५३ वर्षीय पुरुष बिरामीले आफूलाई डा. शर्माले यौनहिंसा गरेको भन्दै उजुरी दिएका थिए । शर्मामाथि बिरामीले आफू पिसाबसम्बन्धी समस्या भई अस्पताल भर्ना भएका बेला हिंसा गरेको आरोप लगाएका छन् ।

बिज्ञापन

विराटनगर महानगरपालिका–१२ खरैयाका शर्मा केही वर्षदेखि धनकुटामा निजी स्रोतबाट सञ्चालित अस्पतालमा चिकित्सकका रूपमा कार्यरत छन् । राति साढे १० बजे मादक पदार्थ सेवन गरी बिरामी कक्षमा पुगेका शर्माले यौनहिंसा गरेको प्रारम्भिक अनुसन्धानमा पुष्टि भएको प्रहरी प्रवक्ता डीएसपी रायले संचारमाध्यमलाई प्रतिक्रिया दिएका थिए।