पाँच वर्षमुनिका बालबालिकामा रोगको सङ्क्रमण बढ्यो

बाजुरा, साउन २८ गते । पछिल्लो समयमा बालबालिकामा विभिन्न रोगको सङ्क्रमण बढ्न थालेको छ । बुधबार जिल्ला अस्पताल बाजुराले पत्रकारसँगको अन्तरक्रियामा पछिल्लो चार वर्षयता बालबालिकामा निमोनिया, झाडापखालालगायतका रोगको सङ्क्रमण बढेको अस्पतालका प्रमुख डा. प्रकाशराज जोशीले बताउनुभएको छ ।

बालबालिकामा श्वासप्रश्वासमा समस्या आउने, झाडापखाला लाग्ने, ज्वरो आउनेलगायतका लक्षण देखा परेको भन्दै नयाँ भेरियन्टको डेल्टा नामक कोरोना भाइरस सङ्क्रमणसँग मिल्दोजुल्दो भएकाले बालबालिका बढी प्रभावित बनेको बताइएको छ ।

बिज्ञापन

उहाँले पछिल्लो दुई सातामा ३७ बालबालिकालाई कोरोनासँग मिल्ने रोगको सङ्क्रमणले बढी प्रभावित बनाएको र अस्पतालमा उपचारमा गराउनेको सङ्ख्या बढेको बताउनुभयो । यही साउन १५ गतेयता अस्पतालमा ३७ बालबालिका निमोनियालगायतका रोगले ग्रस्त भई उपचारमा आएको तथ्याङ्क पत्रकारसँगको अन्तरक्रियामा सार्वजनिक गरिएको हो ।

एकाएक सबै पाँच वर्षमुनिका बालबालिकामा सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ । जिल्लामा विगत चार वर्षको तुलनामा यो वर्ष सबैभन्दा डरलाग्दो सङ्क्रमण पहिलोपटक देखिएको कार्यालय प्रमुख डा जोशीको भनाइ छ ।