
पोखरा : पोखराको महेन्द्रपुल नजिकैकै सडक भासिएको छ । अविरल वर्षाका कारण महेन्द्रपुल सेलवेज गेटको पारी रहेको गरिमा विकास बैंकअगाडिको सडक भासिएको हो ।
पोखरा–९, विशालबजार अगाडिको व्यस्त सडक खण्ड भासिएपछि आवागमनमा असुविधा भएको छ भने स्थानीय त्रसित बनेका छन् । झण्डै ५ फिट गहिरो गरी १० मिटरभन्दा बढी सडकखण्ड भासिएको छ । पानी परिरहेको र भल सोही भ्वाङबाट छिरेको छ । भल तर्काउने र भ्वाङ पुर्ने प्रयास भइरहे पनि वर्षाले अवरोध गरेको प्रहरीले जानकारी दिएको छ ।
आइतबार साँझदेखि परेको अविरल वर्षासँगै राति ९ः३० बजेतिर सडक भासिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले बताए । कोइरालाका अनुसार पोखरा–३, नदीपुरदेखिको सडकमै बाढी बगेपछि सडक भासिएको हो । भासिएको ठाउँमा राति नै ढुंगा–बालुवा ल्याएर पुर्न सुरु गरिए पनि खतरा टरेको छैन।