
काठमाडौँ : हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभाग भन्दा केही दक्षिणतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना छ ।

अहिले देशभर बदली रही प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमलगायत प्रदेशका केही स्थानमा पानी परिरहेको छ । महाशाखाले जारी गरेको बुलेटिन अनुसार बागमती प्रदेश ,गण्डकी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।



आज राति प्रदेश १ र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । भोलि अधिकांस भू-भागमा बदली रही धेरै स्थानमा पानी पर्नेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

भोलि राति प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । भोलि राति गण्डकी प्रदेशका एकरदुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ।