
बुटवल : लगातारको वर्षासँगै आएको बाढीले रुपन्देही र बाँकेका विभिन्न क्षेत्र डुबानमा परेका छन् । प्रहरीका अनुसार रुपन्देही जिल्लाका दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवारलगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाब बढेपछि डुबान सुरु भएको हो ।
वर्षाका कारण भैरहवा, ओमसतिया, तिलोत्तमा, रुद्रपुरलगायतका क्षेत्रमा वितण्डा मच्चाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए । यसैगरी बिहीबार बेलुकादेखि परेको अविरल वर्षाका कारणका पूर्व-पश्चिम लोकमार्गको देवदह–७ शीतलनगरस्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ ।
पक्की पुल भासिएपछि वैकल्पिक व्यवस्था नभएका कारण सडकमा सवारी आवागमन रोकिएको प्रवक्ता थापाले बताए । पुल भासिएपछि बुटवलतर्फबाट जाने र आउने सवारी साधन सडकमै रोकिएका छन् ।
यस्तै गए रातिदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपासको क्षेत्र जलमग्न भएको छ । निरन्तर परिरहेको वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत न्यूरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँलगायतका स्थानमा पानी जमेर जलमग्न भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । उनका अनुसार नेपालगञ्जमा २० मिलीमिटर वर्षा भएको छ ।
ढल निकासको उचित व्यवस्थापन नहुँदा नेपालगञ्जमा सामान्य वर्षामा पनि डुबान हुने गरेको छ । पानी जमेपछि पैदलयात्रीलाई आवतजावतमा समस्या भएको छ । निरन्तरको वर्षाले सहरका विभिन्न स्थान डुबानमा भएकाले थप जोखिम हुन नदिन उपमहानगरपालिकाले सरसफाइ शाखाका कर्मचारीलाई परिचालन गरेको प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।
निरन्तरको वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् । बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । वर्षाले डुबानको जोखिम बढाएपछि स्थानीय प्रशासनले उद्धार कार्यमा तयारी रहन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।