सङ्खुवासभा हत्या प्रकरणः शव धरान लगियो, कुकुरसहित अनुसन्धान टोली घटनास्थलमा

काठमाडौं — सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा हत्या गरिएका सबै ६ जनाको शव पोस्टमार्टमका लागि धरान लगिएको छ।

सोमबार हत्या गरिएका उनीहरूको शव पोष्टमार्टमका लागि मंगलबार दिउँसो धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको वडाध्यक्ष खेमनाथ कटुवालले नेपाली पब्लिकसँग बताए।

सामूहिक हत्या प्रकरणको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि खटिँदैछ।

मंगलबार काठमाडौंबाटै सिआइबीको टोली खटिन लागेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। ‘टोली अहिले स्ट्यान्डबाइ छ। तर गइसकेको अवस्था होइन’, उनले भने। उनका अनुसार ब्युरोमा अनुसन्धानमा राम्रो दखल भएका प्रहरी अधिकृतको नेतृत्वमा टोली खटिन लागेको हो।

सङ्घीय प्रहरी इकाई कार्यालय धरानबाट एसपी भीम दाहाल नेतृत्वको विशेष टोलीले सोमबार साँझदेखि घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ।

प्रहरीले अनुसन्धानका लागि ‘ट्र्याकर’डग पिकु र लैलालाई प्रयोग थियो। तर, ट्रयारडगले घटनाको विषयमा कुनै सुरुक पत्ता लगाउन नसकेको जानकारी वडाध्यक्ष कटुवालले जानकारी दिए।

निरन्तरको वर्षाका कारण तालिमप्राप्त कुकुरले पनि घटनाबारे केही पत्ता लगाउन सकेका छैनन्।

घटनाको अनुसन्धानमा सङ्खुवासभा प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी र इलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर योगराज खतिवडा पनि खटिएका छन्।

घटनामा ८५ वर्षीय बौदमान कार्कीको घरमा रहेका ७ जनामध्ये उनी मात्रै सकुशल छन्। अरू ६ जनाको भने क्रूरतापूर्वक तरिकाले हत्या गरिएको अवस्थामा यत्रतत्र शवहरू भेटिएका थिए।

प्रहरीका अनुसार बौदमानकी पत्नी ८४ वर्षीय पार्वता, छोरा ५८ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीय कमला तथा तेजबहादुरकी बुहारी ३२ वर्षीय रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी ७ वर्षीय गोमा कार्कीको हत्या भएको हो।

एउटै परिवारका ६ जनाको हत्या भएपछि पुरै गाउँ शोकमा डुबेको वडाध्यक्ष कटुवालले बताए। नरसंहार पछि सिङ्गो गाउँमा सन्नाटा छाएको छ।