
मैले हिजो बिहानमात्र सुनेँ , नेपाल – भारत सीमाङ्कन सुगौली सन्धिपछि बनेको नक्साका आधारमा होइन , भारतीय स्वार्थ अनुकूल हुने संशोधित नक्साका आधारमा भएको छ ।
त्यसैले भत्किएका र हराएका स्तम्भहरू मात्र पुनर्निर्माण गर्नुपर्नेमा सबै स्तम्भहरू नयाँ बनाइएका हुन् । यसो भएपछि नेपालको कति जमिन भारततर्फ पर्यो होला ? अनुमान गर्दा पनि जिउ सिरिङ्ग हुन्छ ।
यसको जिउँदो उदाहरण मेचीपारिको मूल स्तम्भ हो , जुन नापीपछि भारततर्फ पारिएको छ र सहायक स्तम्भलाई मूल स्तम्भ भनेर नेपाली जमिन भारततिर पारिएको छ । यस्तो त कति भएको छ कति !
यदि यसो भएको होइन भने हामीले हेर्न माग्दा नापी विभागले सुगौली सन्धिपछिको सही नक्सा देखाउनुपर्छ । यति मात्र होइन , सन् १८१६ डिसेम्बर ११ पछि सन् १८५८ सम्म ब्रिटिश इस्ट इन्डिया कम्पनी , त्यसपछि सन् १९४७ सम्म बेलायत र सन् १९४७ देखि यता (नेपालको नापी विभागले बनाउनुअघि) भारतले बनाइदिएका सबै नक्साहरू एक एक गरी देखाउनुपर्छ । यो नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको संवेदनशील विषय हो ।
लेखक फणिन्द्र नेपाल ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका’ अभियन्ता हुन् ।