
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव गोकर्ण विष्टले स्थानीय तह चुनाव सार्न जालझेल सुरु भएको बताएका छन् ।

सामाजिक सञ्जाल माफर्त विष्टले निर्वाचन आयोगले आगामी बैशाख महिना भित्रै सम्पन्न गर्नेगरी निर्वाचनको मिति घोषणा गर्न पटक पटक सरकारको ध्यान आकृष्ट गरिरहेकै बेला सत्ता गठबन्धन भने लोकतान्त्रिक अभ्यासको बर्खिलापमा चुनाव टार्ने प्रपञ्च गरिरहेको बताएका हुन् ।



आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरूबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन नसक्ने विष्टको भनाई छ ।

विष्टले गठबन्धन सरकारमा सामेल पार्टीहरू संविधान र कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षड्यन्त्रमा तल्लिन रहेको बताएका छन् ।
विष्टले लोकतान्त्रिक अभ्यासबाट नभाग्दै संविधानको कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् ।
साथै उनले अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।