एमसीसी सम्झौता अघि नबढाउन विप्लव नेकपाको चेतावनी

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी सहयोग परियोजना एमसिसी अगाडि नबढाउन चेतावनी दिएका छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सोमबार एमसिसी सम्झौताविरुद्ध काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले एमसिसी सम्झौता गरेर सरकारले गल्ती गरेको दाबी गरे ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार आफैमा संकटको भूमरीमा परेको भन्दै उनले एमसीसी सम्झौता गरेर गरेको गल्ती अहिले सच्चाउने अवसर रहेको पनि दाबी गरे ।प्रकाण्डले भने, ‘केही समयदेखि देशव्यापी रुपमा नेपाली जनताले एमसिसीविरुद्ध आन्दोलन गरिरहेका छन् । अमेरिकी हस्तक्षेप र शासक नै मन पर्छ भने नेपालमा किन बस्नुहुन्छ अमेरिकातिरै जानुस् । राष्टिय स्वाधिनताको विषयमा नेपाली जनताले संघर्ष गरिरहेका छन् । एमसिसीको विरुद्धमा पनि हामी पछिल्ला केही वर्षदेखि संघर्षमा छौँ ।’

बिज्ञापन

एमसिसीको नाममा नेपालका दलालहरूले भ्रष्टाचार गर्न पाउँछौँ भनेर थुक निलेर बसेको उनले बताए । अहिले पनि एमसिसीको विषयमा आन्तरिक कलहबाट बनेको देउवा सरकारले एमसिसी अगाडि बढाउन खोजेर मूर्खता गरेको उनले आरोप लगाए ।
‘अमेरिकी साम्राज्यवादले अहिलेको सन्दर्भमा षड्यन्त्र गर्दै आएको छ’ उनले भने, ‘त्यसलाई हिन्द–प्रशान्त रणनीति भनिन्छ । त्यसको स्वरुप आर्थिक क्षेत्रलाई देखाएर सडक र विद्युत देखाएर साम्राज्यवादी लुट मच्याइएको छ ।’

आफ्नो लुटको साम्राज्य काम गर्नको लागि अमेरिकाले विभिन्न षड्यन्त्र भइरहेको उनको भनाइ छ । विदेशीको पाउमा परेर सत्ता र कुर्सी स्वार्थका निम्ति नेपाली भूमि बेचबिखन गर्ने काम भयो भने नेपाल कम्युनिष्ट पार्टीले कडा आन्दोलन गर्ने उनले चेतावनी दिए ।