विदेशमा असफलता, स्वदेशमा सफलता

गलकोट, भदौ २९ गते । बीस÷बाइस वर्षको ठिटो हुँदा विदेश जाने मोहले निकै सताइरहेको थियो बागलुङ नगरपालिका–१ रामरेखाका दुर्गा तिलिजा मगरलाई ।

वैदेशिक रोजगारीको दौडमै लगातार आठ वर्ष काठमाडौँ धाउँदाधाउँदै बित्यो । उमेरले ३० पुग्नै थाल्यो । न विदेश सफल भयो, न नेपालमा कुनै रोजगारीको टुङ्गो लाग्यो । युरोप, अमेरिका जाने त कुनै सोच थिएन उनको । तर साउदी र कतारजस्ता खाडी मुलुकका लागि अन्तर्वार्ता दिँदै उनको आठ वर्ष बितेको पत्तै भएन । काठमाडौँ धाउँदाधाउँदै उनको हजारौँ रकमसमेत खर्च भइसकेको थियो । अन्ततः तिलिजाले ३० वर्षको उमेरमा आएर विदेश नजाने निर्णय लिए । सायद विदेशका लागि पाएको हण्डर र ठक्करले पाठ सिकायो । उनका निर्णयमा परिवारको पनि साथ, सर्मथन रह्यो । वैदेशिक रोजगारीमा जाने सपना विफल भएपछि नयाँ कामका लागि सोच र प्रेरणा मिल्दै थियो । अहिले तिलिजाको दैनिकी फेरिएको छ । सरर्र स्कुटरमा कहिले बागलुङ बजार त कहिले कुश्मा बजारमा तरकारी, अण्डा, कुखुरा बेच्दै आएका छन् ।

बिज्ञापन

उनी उमेरले अहिले ३७ वर्षका भए । तीस वर्षका उमेरमा थालेको कृषि तथा पशुपालन व्यवसाय फस्टाउँदै गयो । अहिले उनी सफल किसानका रूपमा परिचित भइसकेका छन् । बागलुङ –१० भकुण्डेस्थित कालीगण्डकी किनारामा रहेको दब्ल्याङ बगरमा तीन रोपनी जग्गा भाडामा लिएर कृषि कर्म गरिरहेका छन् ।

सुरुका पाँच वर्ष तरकारी खेतीसँगै ब्रोइलर कुखुरा पाल्दै आएका उनी पछिल्लो समय ब्रोइलर छाडेर अण्डा दिने लेयर्स जातको कुखुरा पाल्दै छन् भने पछिल्लो समय फस्टाउँदै गएको बट्टाई चरा, बङ्गुर र टर्कीसमेत पाल्दै आएको तिलिजा मगरले बताए । “वैदेशिक रोजगारीमा जान धेरै समय खेर फालिएको रहेछ, सुरुबाटै कृषिमा लागेको भए कहाँ पुगिन्थ्यो होला ? जे होस्, अहिले राम्रै कमाइ भइरहेको छ, आफ्नै परिवारको साथमा बसेर कृषि तथा पशुपालनमा रमाइरहेको छु”, उनले भने, “अहिले किन विदेश जान खोजेहुँलाजस्तो लाग्छ, मैले सुरुमा ब्रोइलर कुखुरा पालेर व्यवसाय सुरु गरेको भए पनि अहिले बहुआयामिक बनाउँदै लगेको छु, बेमौसमी गोलभेँडा मेरो फार्मको मुख्य आम्दानीको स्रोत हो भने अण्डा, टर्की, बट्टाईपालनसमेत गर्दै आएको छु, अहिले आएर बङ्गुरपालनसमेत सुरु गरेको छु ।”

उनको कृषि तथा पशुपालनमा श्रीमती लक्ष्मी तिलिजाले समेत सघाउँदै आएकी छिन् । उनको फार्ममा अहिले १०० अण्डा दिने लोकल कुखुरा, २५० बट्टाई चरा, छ टर्की चरा र १४ बङ्गुर रहेका छन् भने दुई रोपनी क्षेत्रफलमा तरकारी खेती दुईवटा आधुनिक टनेल रहेको लक्ष्मी बताउँछन्।

“तीन रोपनी जग्गाको भाडा वार्षिक रु ३५ हजार तिर्दै आएका छौँ, फार्म आफँैले विस्तार गरेका हौँ, कुनै महिना राम्रो आम्दानी हुन्छ, कहिले हुँदैन”, लक्ष्मीले भने, “आफ्नो खायो, आफ्नै काम ग¥यो, आनन्दको जीवन बिताउन पाइयो, अहिले गोलभेँडा गरेर दुई आधुनिक प्लाष्टिक टनेल खाली गर्ने अवस्थामा पुगेका छौँ, वार्षिक रु आठ÷दश लाखको कारोबार गरिएकै हुन्छौँ”, तिलिजा दम्पतीले लक्ष्मी कृषि तथा पोल्टी फार्म दर्ता गरेरै व्यावसायिक कृषि तथा पशुपालन सुरु गरेका छन् । उनीहरूले फार्म सञ्चालनमा रोगव्याधिका लागि प्राविधिक सल्लाह नपाएको समेत गुनासो गरे ।

कृषि ज्ञान केन्द्रले रु एक लाख ५० हजार अनुदान दिइसकेको बताउँदै थापा दम्पतीले बेलाबेलामा प्राविधिक ज्ञान नपाउँदा कुखुरा र टर्कीमा रोगको प्रकोप आएको बताउँछन् । रासस