
काठमाडौ । दशै तिहार जस्ता पर्वहरुमा हुने अपराधिक गतिविधको न्यूनीकरणका लागि महानगरीय प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित ‘विशेष’ सुरक्षा योजना बनाएको छ ।कोरोना महामारीको समयमा हुने भिडभाड र अपराधिक गतिविधिलाइ नियन्त्रण गर्न परिसरले योजना बनाएको हो ।

प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहका अनुसार असोज १ गतेदेखि लागू हुने गरी काठमाडौंमा चाडबाडलक्षित विभिन्न सुरक्षा योजना ल्याएको हो । हरेक बर्ष चाडपर्व नजिकिदै जादा प्रहरीले विभिन्न सुरक्षा योजना ल्याउने गरेको छ । यसबर्ष भने ‘चोरी नियन्त्रण, जुवातास नियन्त्रण, गुण्डागर्दी, अर्थिक कारोबार हुने स्थान, कालोबजारी, सपिङ महल, गहना पसल, दसैं बजार लगायतका ठाउँमा अपराध नियन्त्रण गर्नका लागि योजना ल्याइएको छ,।’ उपरीक्षक सिंहका अनुसार चाडपर्वका लागि काठमाडौंमा ३ हजार २ सय ७१ सुरक्षाकर्मी खटाइएको छ । त्यसमा प्रहरी परिचालनको वैज्ञानिक प्रयोग अबलम्बन गरिने सिंहले बताए ।



उनका अनुसार चाडपर्वमा ६१ ठाउँमा पिकेट गस्ती, ६० वटा ठाउँमा बिहान बेलुका र दिउँसो पैदल गस्ती खटिने छन् । यस्तै, बिहान र रातको समयमा ४८ वटा मोबाइल गस्ती, ३५ वटा साइकल गस्ती, ८३ वटा क्वीक रेस्पोन्स टिम, तत्काल परिचालन गर्न सकिने १५ वटाको छुट्टै टिम, सर्च एन्ड सिल अभियानका लागि ३०, एरिया सिल र सर्चका लागि ३०, एक्बुसिङ र निगरानीका लागि ३०, सिआरभी र क्रस चेकिङका लागि ४६ ठाउँमा प्रहरी परिचालन गरिने छ । उपरीक्षक सिंह भन्छन् ‘आपराधिक गतिविधि नियन्त्रणका लागि विगतमा भएका र अहिले कार्यान्वयनमा ल्याइएका नयाँ अभ्यासहरू प्रयोग गरिने छ,।’ चाडबाडमा सबै नागरिकलाई शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन सकिने गरी प्रहरीले सुरक्षा योजना ल्याएको बताएको छ ।

आज देखिनै चेक प्वाइन्ट प्रत्येक दिन दिउँसो ३ देखि साँझ ६ बजेसम्म ३६ स्थानमा र राति ८ देखि १२ बजेसम्म ३६ स्थानमा राखिएको छ । साथै चाडपर्वमा भिडभाडको फाइदा उठाउँदै सार्वजानिक सवारी साधनमा महिला हिंसा हुन गर्न नदिनका लागि सेफ्टीपिन प्रहरी परिचालन गरिने भएको छ । लामो दुरीको अग्रीम टिकट बुकिङ भएसगै यात्रुलाइ सुविधा दिन विभिन्न स्थानमा प्रहरीले हेल्प डेक्स राखेको छ । यसैगरी, काठमाडौंका मुख्य चोक, व्यापारिक केन्द्र, काठमाडौं प्रवेश गर्ने नाकामा सिसिटिभीबाट निगरानी गरिने सिंहले बताए । यो काममा तालिमप्राप्त कुकुरसमेत परिचालन गरिने सिंहले जानकारी दिए ।
यसैगरी, अति विशिष्ट व्यक्तिहरूको सवारी र कार्यक्रमको सुरक्षा व्यवस्थापन र सवारी साधनहरूमा पाकेटमार हुनसक्ने भनी विभिन्न रुटका सवारी साधनमा सादा पोशाकको प्रहरी परिचालन गरिने छ । यस्तै, मठ मन्दिर, गुम्बाहरूको सुरक्षा व्यवस्था मजबुद बनाइने, मिसावट, कालोबजारी नियन्त्रणमा बजार अनुगमन गर्ने सिंहले बताए । उनी भन्छन् ‘मठ मन्दिर, गुम्बाहरूको सुरक्षा व्यवस्था मजबुद बनाउने र , मिसावट, कालोबजारी नियन्त्रणमा बजार अनुगमन भइरहने छ ।’ चाडपर्वको बेला सना हतियारको ओसारपसार धेरै हुने भएकोले यसको नियन्त्रणका लागि उपत्यकाका सबै नाकामा कडा चेकजाँच गर्ने प्रहरीको योजना रहेको छ ।