दशैं नजिकिँदै गर्दा चितवनका चेपाङ परिवारलाई खाद्यान्न सहयोग

चितवन : जिल्लाका विपन्न १०२ चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । हिन्दूको महान् पर्व दशैंतिहार नजिकै आइरहेको अवस्थामा कोभिडका कारण ज्याला मजदुरी गर्न समेत नपाई खाद्यान्न संकटमा परेका चेपाङ घर परिवारलाई सहयोग गरिएको हो । एक्सन क्लिनर प्रिन्ज (इन्टरनेसनल हेल्फे फर किन्डर इननट इभी) जर्मनी तथा नेपाल बाल सहायता संघको सहयोग र राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र एवं जगत चेत प्रतिष्ठान नेपालको संयोजनमा सहयोग गरिएको हो ।

दशैंतिहारजस्ता पर्व मान्न समस्या भएका ती विपन्न चेपाङ परिवारलाई प्रतिपरिवार २ बोरा चामल, २ किलो नून, २ लिटर तेल, ४ पोका मस्यौरा, २ किलो दाल, २ किलो केराउ लगायतका खाद्यान्न सामग्री सहयोग गरिएको थियो । कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको जैथली, वास्पानी, चौकीडाडा, साप्रनीलगायत गाउँका चेपाङलाई सहयोग प्रदान गरिएको छ ।

बिज्ञापन

सो अवसरमा पर्यटन व्यवसायी रामकुमार अर्याल, चेपाङ अभियानकर्मी केपी किरण शर्मा, राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्रका इञ्जिनीयर आनन्दराम थापा, विष्णुप्रसाद अर्याल, गोपाल अधिकारी लगायतको सहभागिता थियो । चेपाङ समुदायलाई आफ्नो उत्पादनले ६ महिना खान पनि धौंधौं हुने गरेको छ ।