
सुर्खेत : कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दशैंतिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि ४ हजार प्रहरी परिचालन गरेको छ। प्रदेश प्रहरी कार्यालयले नेपालीहरूको महान् पर्व विजयादशमी, दीपावली तथा छठमा हुने अवाञ्छित तथा अपराधिक गतिविधि नियन्त्रण एवं सडक अनुशासन कायम गर्न चाडपर्व लक्षित सुरक्षा कार्य योजना ल्याएको हो ।

योजनाअन्र्तगत १० जिल्लामा १/१ कमाण्ड सेन्टर स्थापना गरी ४ हजार ३५१ प्रहरी जनशक्ति खटाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरले जानकारी दिए । ‘नागरिकको शान्ति, सुरक्षालाई ध्यानमा राखेर हामीले सुरक्षा कार्य योजनाअन्तर्गत दुर्घटना न्यूनीकरण तथा सहज आवागमनका लागि सडक अनुशासन, बैंक, वित्तीय संघसंस्था तथा आर्थिक कारोबार हुने स्थानमा सुरक्षा व्यवस्था गरेको छौं,’ प्रहरी नायब महानिरीक्षक ऐरले भने, ‘चाडपर्वमा खेलिने जुवातास, कौडा प्रवृत्तिको पूर्ण नियन्त्रण र चोरी तस्करी, लागूऔषधको ओसारपसार नियन्त्रणका लागि तालिम प्राप्त कुकुरसहित जाँचको व्यवस्था गरिएको छ ।’ महत्त्वपूर्ण सरकारी कार्यालय तथा प्रतिष्ठान, मठमन्दिरमा सुरक्षा व्यवस्था गरिएको जनाउँदै उनले खाद्यान्न लगायतका अत्यावश्यक वस्तुमा कृत्रिम अभाव हुन नदिन अनुगमन गरी सहज आपूर्तिको व्यवस्था गर्ने योजना अघि बढेको बताए ।



सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुलाई ठगिन नदिन, समान हराए खोजतलास गर्ने, पकेटमारी, चोरी, लुटपाट र ठगी नियन्त्रण तथा चाडपर्वको अवधिमा हुन सक्ने झैझगडा तथा सम्भावित विवादको रोकथाम गर्ने योजना प्रहरीले बनाएको छ । प्रदेश प्रहरी कार्यालयले तत्काल आइपर्ने घटनाको उद्धार तथा राहतका लागि उद्धार टोली व्यवस्था गरेको छ । अपराध नियन्त्रण तथा सवारी दुर्घटना नियन्त्रणका लागि आकस्मिक चेक प्वाइन्ट, मोबाइल, पैदल एवं मोटरसाइकल गस्ती तथा सीमानाकामा तालिम प्राप्त कुकुरसहित जाचको व्यवस्था गरिएको छ । प्रदेश प्रहरी कार्यालयले चाडपर्व अवधिभरका लागि ११४ वटा क्विक रेस्पोन्स टीम परिचालन गरेको छ भने मादक पदार्थ सेवनसहित १२९ स्थानमा नियमित जाचको व्यवस्था गरेको छ ।

सिमानामा चोरी तस्करी नियन्त्रण गर्न ९, ट्राफिक सहितको संयुक्त चेकिङ ४६, जुवातास, चोरी, लुटपाट, झैझगडा नियन्त्रणका लागि ७० र राजमार्गमा स्कटिङ मोबाइल तथा पैदल गस्ती ३८७ स्थानमा गर्ने योजनाअनुरूप प्रहरीले काम अघि बढाएको छ ।