
महोत्तरी । डाँकाको एक समूहले आज बिहान शहीद परिवारको घरबाट लाखाैंको धनमाल लुटपाट गरेको छ।
महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार आज बिहान अन्दाजी ३ बजे चार/पाँच जनाको समूहमा आएका डाँकाले शहीद गणेशप्रसाद चौधरीको छोरा र शहीद रोहन चौधरीको काका विजय चौधरीको घरबाट १० तोला सुनको गहना र रू २५ हजार लुटेका हुन्।
धारिलो हतियारसहित मास्क लगाएर आएका डाँकाले घरमूली विजय चौधरी बिरामी भएर काठमाडौँमा उपचाररत रहेको मौका छोपी घरभित्र पसेर छोरा रोशन चौधरीलाई नियन्त्रणमा लिई लुटपाट गरी भागेका थिए।
लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा डाँकाले रोशनलाई टाउकामा हतियारले हिर्काएर घाइते बनाएका थिए। जिल्ला अस्पताल जलेश्वरमा उपचारका क्रममा उनको टाउकामा ११ वटा टाँका लगाइएको र थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। रासस