मुगुमा बस दुर्घटना हुँदा २८ को मृत्यु

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा मंगलबा यात्रुवाहक बस दुर्घटना हुँदा २८ जनाको मत्यु भएको छ । १४ जना घाइते भएका छन् । नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो ।
मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेका छन् । घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–७ स्थित पिना तपनेखोलामा मंगलबार यात्रुवाहक बस दुर्घटना हुँदा घाइते भएकाहरुको यथाशीघ्र उद्धार गर्न निर्देशन दिएका छन् ।

बिज्ञापन

उनले हेलिकोप्टरको व्यवस्था गर्न निर्देशन दिएका गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । मन्त्री खाणको निर्देशन अनुसार नेपाली सेना र समिट एयरको हेलिकोप्टर घटनास्थलमा पुगिसकेका छन् ।

‘यात्रुवाहक बस दुर्घटनामा घाइते भएकाहरुको तत्काल उद्धार गर्नूहोला । आवश्यक परे हेलिकोप्टर पु¥याउनुहोला’ मन्त्रीको निर्देशन उद्धृत गर्दै प्रवक्ता पोखरेलले भने, ‘उहाँको निर्देशन अनुरुप हामीले नेपाली सेना र समीट एयरको हेलिकोप्टरबाट घाइतेलाई नेपालगञ्ज ल्याइरहेका छौँ । घाइतेको उद्वारमा कुनै कसुर बाँकी नराख्न मन्त्री खाँणले निर्देशन दिनुभएको छ ।’

गृहमन्त्री खाँणले प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई पनि तत्काल उद्वारमा खटिन निर्देशन दिएका छन् । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईको नेतृत्वमा १० जनाको टोली खटिएका छन् भने घटनास्थलबाट एक किलोमिटर दक्षिण पर्ने पिना प्रहरी चौकी मुगुबाट प्रहरी सहायक निरीक्षक जोरासिंह खड्काको नेतृत्वमा टोली घटनास्थलमा पुगिसकेको छ ।

अहिले सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर दुर्घटनास्थलमा पुगेर एयरपोर्टसम्म घाइतेलाई ल्याइरहेको प्रवक्ता पोखरेलले जानकारी दिए । साथै समीट एयरको हेलिकोप्टरले पनि घाइतेलाई नेपालगञ्जसम्म ल्याइरहेको प्रवक्ता पोखरेलले बताए । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार अहिले प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेका छन् ।