सरकारी अस्पतालमा कार्यरत चिकित्सकको सुविधा थप गरिन्छ : राज्यमन्त्री श्रेष्ठ

चितवन : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई बाहिर काम गर्नु नपर्ने गरी सुविधा दिने तयारीमा सरकार लागेको जानकारी दिएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र शिवनगर चितवनको अनुगमन र निरीक्षणपछि आयोजित कार्यक्रममा उनले सरकारी अस्पतालमा कार्यरत चिकित्सकको सुविधा थप गरिने बताएका हुन् ।

उनले भने, ‘सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई सेवा सुविधा थप गरेर सकेसम्म निजी क्षेत्रमा सेवा गर्न जान रोक्नेतर्फ सरकारले प्रयास गरिरहेको छ ।’ पूर्व स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री श्रेष्ठले  यसका लागि  समिति बनाएर आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिए । उनले अस्पताल जनताले सेवा लिन सक्ने र चिकित्सक जान र बस्न सक्ने स्थानमा निर्माण गरिनुपर्नेमा जोड दिए ।

बिज्ञापन

देशभरका ७५३ पालिकामा अहिले पालिकास्तरीय अस्पताल निर्माणको काम भइरहेको जनाउँदै राज्यमन्त्री श्रेष्ठले अस्पताल निर्माण गर्दा योजना बनाएर गर्नुपर्ने बताए । उनले भने, ‘एक सय दिनमा के गर्ने, ६ महिनामा के गर्ने र एक वर्षमा के गर्ने योजना बनाएर काम गर्नुस् । जनताले सेवा पाउनुपर्‍यो ।’