
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परिसकेको अवस्थामा सरकारको आयु केही दिन लम्ब्याउने प्रयासस्वरूप एमालेले प्रदेशसभाको बैठक सार्न सभामुखलाई पत्र पठाएको छ ।
नेकपा एमालेले बैठक सार्न आग्रह गर्दै बुधबार बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई पत्र पठाएको हो ।
एमालेले पार्टीको वडा र पालिका अधिवेशनको कारण देखाउँदै प्रदेशसभा बैठकमा एमालेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरू उपस्थित हुन नसक्ने भएकाले आगामी कात्तिक ११ गतेका लागि प्रदेशसभा बैठक सार्न सभामुख समक्ष आग्रह गरेको हो ।
गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी शाक्य निर्वाचन आयोगको असोज २५ गतेको पत्र संसद् सचिवालयमा दर्ता भएसँगै अल्पमतमा परेकी थिइन् ।
नेकपा एमाले विभाजनपछि प्रदेश सरकार अल्पमतमा परेको हो । १०९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५५ सांसदको समर्थन आवश्यक हुन्छ । पार्टी विभाजनपछि प्रदेशसभामा एमालेका ४३ सांसद छन् । बागमती प्रदेशसभामा नेकपा माओवादी केन्द्रको २३, नेपाली काँग्रेसको २२, नेकपा एकीकृत समाजवादी पार्टीका १३, विवेकशील साझाका ३, राप्रपाका २, नेमकिपाका २ र जसपाका १ जना सांसद छन् ।