काठमाडौँमा एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजदेखि लगाइँदै

काठमाडौँ : एस्ट्राजेनेका खोपको दोस्रो मात्रा काठमाडौँमा मंगलबारदेखि लगाइँदै छ। जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार जिल्लाका आठ वटै नगरपालिकामा १८ वर्ष माथिका एस्ट्राजेनेकाको पहिलो खोप लगाएकालाई आजदेखि दास्रो डोज खोप दिइन लागेको हो। सूचना अनुसार काठमाडौँ महानगरपालिकासँगै कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिकामा एस्ट्राजेनेकाको दोस्रो डोज खोप लगाइने छ।

स्वास्थ्य कार्यालयका अनुसार काठमाडौं महानगरपालिकाको हकमा पाँच वटा अस्पतालबाट पनि एस्ट्राजेनेकाको दोस्रो डोज लगाउन पाइने छ। छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, रत्नपार्कस्थित वीर अस्पताल, महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र बानेश्वस्थित निजामती कर्मचारी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुने छ। यी अस्पतालमा दुई दिन खोप कार्यक्रम सञ्चालन हुनेछ भने स्थानीय तहका खोप केन्द्रमा तीन दिन सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ।

काठमाडौंँ महानगरपालिकाको हकमा कात्तिक १० गतेदेखि सबै वडामा खोप केन्द्र सञ्चालन हुने र आवश्यकताको आधारमा खोप लगाउने अवधि पनि थप गर्न सक्ने पनि सूचनामा जनाइएको छ। खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित आउन पनि स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ।