प्रदेश २ को सीमामा सेटिङमा तस्करी

भारतबाट नेपाल र नेपालबाट भारततिर हुने तस्करीमा झन् वृद्धि भएको छ। कपडा, खाद्यान्न सामग्रीहरू, स्पेयर पार्टस्, भैसी–राँगा, बिस्फोटक पदार्थ पटाकालगायतका विभिन्न सामानहरू भारतबाट तस्करीको माध्यमबाट नेपालमा भित्रिने गरेको पाइएको छ। यसै गरी नेपालबाट इलाइची, मरिच, केराउ, मदिरा, छोहरा, डिजेल, पेट्रोललगायतका सामान भारततर्फ तस्करीको माध्यमबाट जाने गरेको पाइएको छ।

सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनीका डिआइजी गणेश ठाडा मगरका अनुसार तस्करीलगायतका अवैध कार्य नियन्त्रणका लागि निर्ममतापूर्वक लागिपरेको बताए। हरेक सीमानाकामा सुरक्षाकर्मी तैनाथ रहे पनि तस्करीको सामान समातिन नछाडेकाले पनि सेटिङमा तस्करी भएको पुष्टि हुन्छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जिल्लाको ग्रामीण भेगबाट भारततर्फ इन्धन तस्करी बढी हुने गरेको बताए। ‘विशेषगरी खेतीपाती प्रयोजनका लागि जेनरेटर तथा ट्र्याक्टरमा प्रयोग गर्न भनी ट्र्याक्टरमै बोकेर खेततर्फ लग्ने चलन छ,’ उनले भने, ‘खेतीपातीको बहानामा इन्धन भारततर्फ लग्ने गर्छन्, नियन्त्रणका लागि सक्दो प्रयास जारी छ।’

असोज १७ गते ठूलो ग्यालेनमा डिजल भरेर पारि गइरहेको ना ३ त २५६६ नम्बरको ट्याक्टरलाई पर्सा प्रहरीले नियन्त्रणमा लियो। प्रहरीले वीरगन्जको जानकी टोलको बाटो हुँदै भारततर्फ लाँदै गरेको अवस्थामा जगरनाथपुर गाउँपालिका–२ बाट ट्र्याक्टरसहित ७० लिटर डिजेल फेला परेको थियो। ट्र्याक्टर चालक भने फरार भएको प्रहरीले जनाएको छ।

असोज २७ गते पर्साको वीरगञ्जस्थित आइसिपी गेटबाट प्रहरीले ग्याँस बुलेटबाट १२० किलो लागुऔषध गाँजा बरामद गर्यो। एलपी ग्याँस बोक्ने एनएल ०१ के ०७५४ नम्बरको भारतीय ट्यांकरको चालक बस्ने क्याबिनभित्र लुकाएर राखिएको १२० किलो गाँजा फेला परेको पर्सा प्रहरीले जनाएको छ। ग्यास बुलेट र सो गाँजा नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ।

सीमावर्ती बजारका पेट्रोल पम्पमा इन्धन भर्न आउने भारतीय सवारीसाधनको चाप बाक्लै हुन्छ। मोटरसाइकलदेखि चारपांग्रे सवारी आउने गरेका छन। भारतबाट मालसामान बोकेर वारि आउने सवारीसाधन इन्धन भरेर फर्कने गरेका छन। ग्रामीण नाकामा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति हुँदासमेत यदाकदा मात्र इन्धन तस्कर पक्राउ पर्नुले सेटिङ प्रष्ट हुन्छ।