अवसर पाएर पनि काम गर्न नसक्नेलाई दोर्‍याउन हुन्न : प्रकाशमान सिंह

काठमाडौँ : नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरूलाई पदमा दोर्‍याउन नहुने बताएका छन् । कांग्रेस सुनसरी–काठमाडौँ सम्पर्क समितिले काठमाडौँ आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमा बौल्दै नेता सिंहले १३औं महाधिवेशन पछि नेतृत्वले पाएको जिम्मेवारी पुरा गर्न नसकेकाले पार्टीमा अहिलेको अवस्था सिर्जना भएको बताए ।

उनले पटक पटक जिम्मेवारी पाउँदा पनि पाएको जिम्मेवारी पुरा गर्न नसक्ने नेतालाई पुन जिम्मेवारी दिए पार्टीको अवस्था अझै धेरै विग्रने बताए । ‘अहिले पार्टीको परम्परा नै मिचिएको छ । देश बनाउँछु बनेर अगाडी बढ्ने नेताहरुले आफ्नै पार्टीको अबस्था नाजुक बनाएका छन्’, उनले भने, ‘अवसर पाएर पनि काम नगर्नेहरुलाई रिपिट गर्न हुन्न । यसले पार्टीलाई फाइदा गर्दैन ।’

बिज्ञापन

साथै नेता सिंहले अझै पनि केही जिल्लामा क्रियाशिल सदस्यता विवाद कायम रहेका बताउँदै विधि र नियमपूर्वक समाधान गर्नुपर्ने धारणा राखे । उनले रौतहट जिल्लाका कार्यकर्ताहरु धर्ना बसेको सय दिन वितिसक्दा पनि नेतृत्व मौन रहेको भन्दै आपत्ति जनाए । पार्टीको आगामी १४ औं महाधिवेशनलाई कमिकमजोरी सुधार गर्ने मौकाको रुपमा लिनुपर्ने उनको भनाइ थियो ।

साथै नेता सिंहले अहिले न्यायालयमा देखिएको समस्या संविधानको मर्म र भावना अनुसार नै समधान गर्नुपर्ने बताएका छन् । न्यायालयमा राजनीतिक व्यक्तित्वले हस्तक्षेप गर्न नहुने भन्दै नेता सिंहले निश्चित व्यक्तिको स्वार्थका कारण न्यायालयमा अहिलेको अवस्था सिर्जना भएको बताए ।

फरक प्रसङ्गमा नेता सिंहले चाडपर्वको मुखमा सरकारले ग्यास र डिजेल लगायतका इन्धनको मूल्य बढाएर गल्ती गरेको बताए । जनतालाई राहत दिने ठाँउमा सरकारले मूल्य बढाएर जनतालाई मारमा पारेको उनको टिप्पणी छ । आफुले गर्न सक्ने काम नगर्ने र त्यसको क्षतिपूर्तिको लागि मूल्य बढाउने काम गलत भएको भन्दै नेता सिंहले मूल्यवृद्धि तत्काल फिर्ता ल्याउन माग समेत गरे ।