राष्ट्रपति भण्डारी आज लुम्बिनी जाँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज बुद्धजन्मस्थल लुम्बिनी जाँदै छिन् । लुम्बिनी विकास कोष र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी लुम्बिनी जान लागेकी हुन् ।

राष्ट्रपति भण्डारी पोखराबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान ११ बजेसम्म लुम्बिनी पुग्ने लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए । लुम्बिनीमा आएपछि सबैभन्दा पहिला त्यहाँ बनेको बज्रयान बिहार उद्घाटन र पूजा गर्ने छिन् । त्यसपछि मायादेवी मन्दिर दर्शन र लुम्बिनी विकास कोषको गुरुयोजनाको प्रगतिबारे जानकारी लिने कार्यक्रम छ ।

त्यसपछि लुम्बिनीमै बनेको अन्तराष्ट्रिय सभा हलको अवलोकन गरेर राष्ट्रपति भण्डारी गौतमबुद्ध विमानस्थलमा जाने कार्यक्रम रहेको राईले जानकारी दिए । विमानस्थलमा साढे दुई अर्ब रुपैयाँ मूल्यको ‘ह्वाइट जेड’ धातुबाट निर्मित बुद्ध मूर्ति अनावरण गरिंदैछ । राष्ट्रपति भण्डारीले आज दिउँसो उक्त मूर्ति अनावरण गर्ने कार्यक्रम छ ।

म्यान्मारस्थित खानीसम्बन्धी काम गर्ने कम्पनी मालविन ग्रुपद्वारा निर्मित एक हजार आठ सय केजी तौल भएको उक्त बुद्ध मूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा विमानस्थलमा ल्याइएको हो ।