
सुरेन्द्र खत्री/ बझाङ १६ कार्तिक,
विकासको नाममा जथाभावी सडक खन्दा बझाङ बाढीपहिरोको उच्च जोखिममा परेको छ । वातावरणीय प्रभावको अध्ययन नगरी डोजर लगाएर सडक निमार्ण गर्दा जिल्लाका ग्रामीण बस्तीहरू पहिरोको जाेखिममा परेका गाउँलेहरु
सडकको पहुँच पुग्दा खुसी हुनुपर्ने बासिन्दाहरूमा रुवाबासी चलेको छ ।
सडक निमार्णले निम्त्याएको विनासका कारण यहाँका अधिकांश गाँउहरू पहिरोको उच्च जोखिममा छन् । दुई नगरपालिका र दश गाउँपालिका रहेको बझाङमा सबै स्थानीय तहले विकासका नाममा डोजरमार्फत सडक निर्माण गरिरहेका छन् । जिल्ला भरिमा दुई दर्जनभन्दा बढी ग्रामीण सडकका कारण २ हजार भन्दा बढी स्थानमा पहिरोको खतरा बढेकाे छ ।
कमजोर भौगर्भिक अवस्था भएको पहाडी जिल्लामा जथाभावी डोजर चलाएका कारण पहिरोको खतरा दिनप्रतिदिन बढ्दै गएको भूगर्वविद् कमल थापाले बताए । उनले जथाभावी सडक निर्माणकाे क्रम नराेके थप क्षति व्यहाेर्नुपर्ने अवस्था आउन सक्ने बताए । हालै आएकाे बेमाैसमी वर्षाका कारण पनि बाढीपहिराेमा परि बझाङमा हालसम्म १२ जनाको मृत्यु भएको छ भने १९ जना अझै बेपत्ता छन् ।
यसरी पहिरो जानुको एउटा कारण वातावरणीय प्रभाव मूल्याङ्कन नगरी खनिएका सडक पनि रहेकाे थापाले बताए । विकासका नाममा अन्धाधुन्ध डोजर लगाउँदा बाढीपहिराेले क्षति गरिरहेकाे खप्तडछान्नाका कमल रावलले बताए । उनले भने, ‘सडक पुग्छ आवतजावतमा सहज हुन्छ भनेर खुसी भएका थियौँ । तर सामान्य पानी पर्दा पनि सडक छेउबाटै पहिरो खसेर ठूलो क्षति भयो । अहिले सयौँ परिवार विस्थापित हुने अवस्थामा छौँ । सबै गाँउ धुजाधुजा भएर फाटेको छ । घरमा बस्न पनि डर लाग्न थाल्यो ।’
वातावरणीय परीक्षण नगरेर खनिएका सडकका कारण खानेपानीका मुहान सुक्ने समस्या देखिन थालेको छ । आउँदा दिनमा खानेपानीको चरम संकट हुने सम्भावना बढेकाे विज्ञहरूले चेतावनी दिएका छन् ।