भरतपुरमा अवरुद्ध विद्युत् ३६ घण्टापछि पुनः सञ्चालन

चितवन : भरतपुर महानगरपालिकाको अधिकांश स्थानमा अवरुद्ध भएको विद्युत् आपूर्ति ३६ घण्टापछि सूचारु भएको छ। मंगलबार दिउँसो १ बजेदेखि अवरुद्ध भएको विद्युत् आपूर्ति बिहीबार बिहान १ बजेदेखि सूचारु भएको हो। भोजाडस्थित १३२/११ भरतपुर सवस्टेशनको ३० एमभिएका दुइटै पावर ट्रान्सफर्मर जलेपछि भरतपुर महानगरपालिका-१ देखि ५, ७ देखि १२, २९ र देवघाट क्षेत्रमा विद्युत आपूर्ति ठप्प भएको थियो ।

विद्युत आपूर्ति अवरुद्ध भएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार सवस्टेशनको स्थलगत निरीक्षण गरि जतिसक्दो काम चाँडो गर्न निर्देशन दिएका थिए। विद्युत आपूर्ति बन्द भएपछि ५५ हजारभन्दा बढी सेवाग्राही प्रभावित भएको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंहले बताए। भरतपुर सवस्टेशन ग्रिड महाशाखा हेटौंडा अन्तर्गत पर्छ। तत्कालका लागि महाशाखाले २२ एमभिएको ट्रान्सफर्मर जडान गरेर विद्युत् आपूर्ति सहज बनाएको हो ।

बिज्ञापन

बुधबार दिउँसो २ बजेदेखि उक्त ट्रान्सफर्मरमा तेल भरेर फिल्टर गर्न थालिएकोमा बिहीबार बिहान १ बजेबाट मात्रै विद्युत् आपूर्ति सूचारु भएको हो। पोखराबाट अर्को २२ एमभिएको ट्रान्सफर्मर पनि ल्याइँदै गरिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए। घिसिङले बुधबार राति पनि सवस्टेशनमा पुगेर निरीक्षण गरेका थिए।