प्रचण्ड श्रीमती र छोरीसहित युएई प्रस्थान

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् ।

 

अध्यक्ष दाहाल मंगलबार बिहान पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित यूएई प्रस्थान गरेका हुन् । लामो समयदेखि बिरामी पत्नी सीताको इच्छामा यो भ्रमण गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

 

पाँच दिने यूएई भ्रमणका क्रममा अध्यक्ष दाहालको कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम तय नभएको पनि बताइएको छ ।

 

अध्यक्ष दाहालले सोमबार बसेको पार्टी सचिवालय बैठकमा आफ्नो यूएई भ्रमणबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको पनि स्वास्थ्य परीक्षणका लागि आगामी शनिबार सिंगापुर जाने कार्यक्रम तय गरिएको छ ।

अध्यक्षद्वय ओली र दाहाल विदेश भ्रमणमा निस्कने भएपछि पार्टी सचिवालय बैठक पनि दुई साता पछि सारिएको छ ।