अर्थमन्त्रीको शर्माको दावी : अहिलेको परिवर्तनको नेतृत्व गर्ने आँट प्रचण्डले गरेका हुन

काठमाडौं । अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको दावी गरेका छन् ।

पार्टी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा भएको राजनीतिक परिवर्तन माओवादी र त्यसको नेतृत्व प्रचण्डको आँट र साहसबाट मात्रै सम्भव भएको बताए ।

बिज्ञापन

‘नेपाली राजनीति, नेपाली राजनीतिको पछिल्लो विकासक्रम हामी दुई दशक, तीन दशकयता आईपुग्दाखेरी परिवर्तनको एउटा ठूलो आन्दोलन जनयुद्ध, जनआन्दोलनको एउटा प्रक्रियाबाट हामी नेपाललाई सामन्तबादबाट मुक्त गर्दै समावेशी लोकतन्त्र, परम्परागत लोकतन्त्र होईन् । परम्परागत लोकतन्त्र होईन,’ उनले भने, ‘यो अझ सुदृढ प्रजातन्त्र हो । समावेशी लोकतन्त्र हो । यो समावेशी लोकतन्त्रसम्म ल्याई पु¥याउनका लागि के–के सत्य हुन ? यो विचार कसले पैदा ग¥यो, यो अभियान कसेले थालनी ग¥यो ? यो आँट कसले ग¥यो ? नेकपा (माओवादी) ले गरेको यो हो आँट । नेकपा माओवादी नेतृत्वले गरेको हो, यो आँट । अध्यक्ष प्रचण्डले गर्नु भएको हो, यसको नेतृत्व । यो तथ्य हो ।’

नेता शर्माले अध्यक्ष प्रचण्ड र माओवादी नेतृत्वमा मुलुकमा यो परिवर्तन आएको सच्चाइलाई स्थापित गर्ने काममा लाग्न पनि पार्टी निकट प्रेस सेन्टर नेपालका नेता, कार्यकर्तालाई निर्देशन पनि दिए । उनले त्यसो गर्दामात्रै जनता र राष्ट्रप्रति न्याय गरेको ठहर्ने बताए । नेता शर्माले मुलुकमा भएको परिवर्तनलाई रक्षा गर्नका लागि पनि सञ्चार माध्यामहरुले परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नेहरुलाई स्थापित गर्दै लैजान आवश्यक रहेको बताए ।

उनले भने, ‘सत्य के हो ? त्यसलाई स्थापित गर्नुस् । जे सत्य हो, त्यही कुरा स्थापित गरियोभने हाम्रो भूमिका पुग्छ जस्तो लाग्छ मलाई । आजको सत्य के हो ? नेपाली राजनीतिको सत्य के हो ? नेपाली समाजको सत्य के हो ? आजको हाम्रो समग्र अवस्था के हो ? भन्ने कुरालाई स्थापित गर्नुस् । त्यो स्थापित गर्दा त्यहाँ कुन–कुन पात्र आईपुग्छन, त्यतातिर नहेर्नुस् ।’

अर्थमन्त्री शर्माले जनतालाई सही सूचना दिने र सरकारले गरेका कामहरुको जानकारी गराउने काममा पनि सञ्चार क्षेत्रमा आवद्ध संघ, संगठनहरुले जोड दिनुपर्ने जरुरी रहेको बताए ।